ट्रम्पविरूद्ध एकै पटक तीन सय पत्रिकाको सम्पादकीय

भाद्र ०१,२०७५

-

१ भदौ, २०७५ एजेन्सी
 
 
प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेको भन्दै तीन सय मिडियाले एकै पटक अमेरिकी राष्ट्रपति डोनाल्डविरुद्ध सम्पादकीय लेखेका छन् । बिहीबारका पत्रिकाहरुमा यस्तो सम्पादकीय प्रकाशित भएको हो।
 
यसैगरी अमेरिकामा तीन सयभन्दा बढी मिडियाले ट्रम्पविरुद्ध एकैसाथ प्रदर्शन गर्ने तयारी गरेका छन । प्रेस स्वतन्त्रतालाई कायम गर्न संचारमाध्यमले राष्ट्रपतिविरुद्ध प्रदर्शन गर्न लागेको बीबीसीले जनाएको छ ।
 
‘द बोस्टोन ग्लोब’ दैनिक पत्रिकाले अमेरिकाभर रहेका पत्रपत्रिका तथा संचारमाध्यमलाई ‘प्रेसमा सरकारी हस्तक्षेपको खतरा’ शीर्षकमा सम्पादकीय लेख्न आह्वान गरेको थियो । तीन सय ५० संचार माध्यमले सो आह्वानमा प्रतिबद्धता जनाएका थिए । यसअघि बोस्टोन ग्लोबले गत हप्ता अमेरिकाभर राष्ट्रपति ट्रम्पको आचरणविरुद्ध प्रेसले आवाज उठाउनुपर्ने अभियानमा साथ दिन सबैलाई आह्वान गरेको थियो । ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय निर्वाचन जितेयता संचार जगतको आलोचना गर्दै आएका छन् । उनले समाचारलाई ‘अफवाह फैलाउने खबर’ भन्दै आएका छन् भने पत्रकारलाई ‘नागरिकको शत्रु’ को संज्ञा दिएका छन् ।
 
ट्रम्पविरुद्ध संचारमाध्यम तथा पत्रकारले ह्यासट्याग इनिमी अफ नन अर्थात पत्रकार कसैको शत्रु हैन भन्ने अभियान चलाएका थिए । अमेरिकी संचार माध्यमहरुले ट्रम्पलाई गलत अभिव्यक्तिमार्फत ‘फोहरी युद्ध’ को सुरुवात गरेको समेत आरोप लगाएका छन् । संयुक्त राष्ट्रसंघका अधिकारीहरुले ट्रम्पको शैलीले अमेरिकामा पत्रकारको अधिकार कुण्ठित हुने संभावना प्रवल भएको विश्लेषण गरेका छन् ।
 
अमेरिकी पत्रिकाले सम्पादकीयमा के भनेका छन् ?
 
बोस्टोन ग्लोबः पत्रकार शत्रु हैनन्, भन्ने शिर्षकमा बोस्टोन पत्रिकाले २ सय वर्षयता प्रेस स्वतन्त्रता अमेरिकामा देशव्यापी सिद्धान्त बनिसकेको तर्क गरिएको छ ।
 
द न्यू योर्क टाइम्सः प्रेस स्वतन्त्रता नभए अमेरिकाको लोकतन्त्र धरापमा पर्ने विषयलाई जोड दिएको छ ।
 
द न्यू योर्क पोष्टः अमेरिकी पत्रकारले गलत समाचार नलेख्नै बताउँदै संचार माध्यमप्रति नकरात्मक टिप्पणी नगर्न ट्रम्पलाई आग्रह गरेको छ ।
 
द फिलिडेल्फिया इन्क्वाइररले यदी अमेरिकी पे्रस स्वतन्त्रतामाथि हस्तक्षेप भए, अमेरिका अमेरिका तथा अमेरिकी नागरिक नागरिक नरहने टिप्पणी गरेको छ ।
 
बिहीबार क्विनिपिया विश्वविद्यालयले गरेको सर्वेक्षणमा ५१ प्रतिशत रिपब्लिकन पार्टीका मतदाताले अमेरिकामा मिडिया नागरिकका शत्रु हुन्, लोकतन्त्रको अंश होइन भनेर बुझ्ने गरेको देखाएको थियो । रिपब्लिकन सत्ताधारी पार्टी हो । यसैगरी ५२ प्रतिशत रिपब्लिकनका मतदाताले ट्रम्पको पे्रस विरोधी अभिव्यक्तिले प्रेस स्वतन्त्रता हस्तक्षेप हुनेमा विश्वास गर्दैनन् । सबै मतदाताको समग्र धारणा बुझ्दा भने ६५ प्रतिशतले प्रेस स्वतन्त्रता लोकतन्त्रको अभिन्न अंग हो भन्ने विचार राखेको देखिएको छ ।
 
अमेरिकी समाचार संस्थाहरु सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा अर्का डेमोक्रेटिक उमेदवार हिलारी क्लिन्टनको पक्षमा भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाउँदै आएका थिए । उनले केबल न्यूज नेटवर्क सिएनएनलाई तोकेरै क्लिन्टन न्यूज नेटवर्कको संज्ञा दिएका थिए । उनले एक पटक अमेरिकी मिडियाहरु आफूलाई राष्ट्रपतिय निर्वाचनमा हराउन लागे पनि विजयी भएको बताएका थिए ।