अमेरिकी योजना आयोग सदस्यमा सुनिल खनाल नियुक्त

भाद्र ०३,२०७५

-

३ भदौ, २०७५ एजेन्सी
 
 
बीस वर्षअघि अमेरिका आएका नेपाली मुलका सुनिल खनाल वासिंटन स्टेटस्थित और्बनको योजना आयोगमा सदस्यमा छानिएका छन् ।
 
७५ हजार जनसंख्या भएको और्बन सिटीका मेयर न्यान्सि बाकुसले गतहप्ता खनाललाई पदभार ग्रहण गराइन् ।
 
और्बनमा लामो समयदेखि व्यापार व्यवसाय गर्दै स्थानीय रोटरी क्लबमा सहसंयोजक रहेर काम गर्दै आएका खनाललाई अबको दूई वर्ष अर्थात सन् २०१८ अगष्ट ६ देखि २०२० को डिसेम्बर २० सम्मको लागि नियूक्ति गरिएको उनले बताएका छन् ।
 
योजना आयोग सदस्य खनालले स्थानीय और्बनको विकास निर्माण र योजनाका बारेमा स्थानीय जनताको हितमा काम गर्नु पर्नेछ । अमेरिकामा राजनीति गर्न चाहनेहरुका लागि योजना आयोग निकै महत्वपूर्ण मानिन्छ ।
 
‘स्थानीय तहमा बसेर गरेको कामलाई अमेरिकी समुदायले स्वीकार गर्दै थप जिम्मेबारी दिएको छ’, खनालले भने, ‘आफ्नो क्षमताले भ्याएसम्म काम गर्नेछु ।’
 
अमेरिकी राजनीतिमा प्रवेश गर्नेहरुका लागि यो राम्रो अवसर भएकोले आफू त्यसतर्फ आकर्षित हुँदै गउको उनले बताए । अमेरिकामा यस्तो योजना आयोग सदस्यका लागि शुरुमा निवेदन दिएर अन्तर्वार्ता पास गर्नुुपर्ने र सो चरण पास गरेपछि स्थानीय जनतासँग विभिन्न चरण सार्वजनिक सुनुवाई पास भएपछि गरिने सिफारिसलाई आधार मानेर मेयरले नियुक्ति गर्ने गर्छन्।
 
सुनिल खनाल सन् १९९८ मा चितवनबाट अमेरिका गएका थिए ।