विकसित देशहरुमध्ये अमेरिकाको औसत आयु सबैभन्दा कम

भाद्र ०३,२०७५

-

३ भदौ, २०७५ एजेंसी
 
 
दशकौँपछि पहिलोपटक उच्च आयदर भएका राष्ट्रहरुमा औसत आयु दर घट्न पुगेको अनुसन्धानले देखाएको छ । त्यसमा पनि १८ देशहरुमा गरिएको अध्ययनमा अमेरिका सबैभन्दा पछाडि भएको पत्ता लागेको सीएनएनले उल्लेख गरेको छ ।
 
यस अन्तर्गत अष्ट्रेलिया, अष्ट्रिया, बेल्जियम, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इटली, जापान, नेदरल्यान्ड, नर्वे, पोर्चुगल, स्पेन, स्वीडेन, स्वीट्जरल्यान्ड, अमेरिका र बेलायत जस्ता उच्च आय दर भएका विकसित देशहरुमा ब्रिटिस मेडिकल जर्नलले यो सर्वेक्षण पूरा गरेको थियो । तर त्यसमध्ये अष्ट्रेलिया, जापान, डेनमार्क र नर्वेम गरि चार मुलुकहरुमा मात्र महिला र पुरुष दुवैको औसत आयु दर वृद्धि भएको बुधबार सार्वजानिक गरिएको हो । यस बाहेकका बाँकी १४ देशहरुमा भने औसत उमेर घट्दै गएको पाइएको हो । विशेषगरी अमेरिका र बेलायतमा पछिल्ला केही वर्षहरुमा यसमा निरन्तर गिरावट आइरहेको पत्ता लगाइएको छ ।
 
यसरी यी विकसित देशहरुमा प्रविधिको विकाससँगै आधुनिक स्वास्थ्य संस्थाहरु उपलब्ध भएपनि दशकौँपछि पहिलोपटक औसत आयुमा अप्रत्यासित गिरावट् देखा परेको हो । प्रविधि बढ्दै गएपनि स्वास्थ्य सेवाको गुणस्तर कम हुनु नै सबैभन्दा ठूलो कमजोरी भएकाले यो विषय चुनौतिपूर्ण बन्दै गएको बताइएको छ । मुख्य रुपमा मस्तिष्क र हृदय सम्बन्धी रोगका कारण अमेरिकामा अधिकांश मानिसको मृत्यु हुने गरेको पाइएको छ ।
 
त्यस्तै अर्को प्रमुख कारण भनेको अमेरिकी युवाहरुमा कुख्यात ड्रग्स रहेको बताइएको छ । ड्रग्स ओभरडोजकै कारण वार्षिक सय भन्दा बढी युवाहरुले अकालमै ज्यान गुमाउने गरेको तथ्याङ्कले देखाएको छ । यसैकारण पनि उच्च आय भएका राष्ट्रहरु मध्ये अमेरिकाको औसत आयु सबैभन्दा कम भएको अनुसन्धानकर्ताहरुको भनाइ छ । त्यसैगरी बेलायतमा पनि पुरुष र महिलाको औसत आयु क्रमशः ७९ र ८२ रहेको छ ।
  
अर्कोतर्फ वृद्धि भएका देशहरु अष्ट्रेलिया, जापान, डेनमार्क र नर्वेमा भने महिलातर्फ क्रमशः ८५, ८७, ८२ र ८४ रहेको छ भने पुरुषहरुको औसत आयु चाहिँ  ८१, ८१, ७८, ८० रहेको छ । अनुसन्धानले यी चार मुलुकमा मात्र किन यस्तो वृद्धि भयो भन्ने अहिले नै स्पष्ट नभएको बताएको छ । घट्दो औसत उमेरका लागि भने सामाजिक असमानता, गरिबी, स्वास्थ्य सेवाको घट्दो गुणस्तर जस्ता पक्षहरु जिम्मेवार रहेको बताइएको छ । विश्वभरमै सबैभन्दा धेरै औसत उमेर हुने देशमा भने महिलातर्फ ८७ ले जापान सबैभन्दा अगाडि रहेको छ भने पुरुषमा स्वीट्जरल्यान्डको ८१.६३ रहेको छ ।