भ्लादमिर पुटिन अष्ट्रियाकी मन्त्रीसँग नाचिरहेको तस्बिर चर्चामा

भाद्र ०४,२०७५

-

४ भदौ २०७५  एजेंसी
 
 
अष्ट्रियाकी विदेश मन्त्री करिन नेसिलको विवाहमा विवादित अतिथिका रुपमा उपस्थित भएका पुटिन उनीसँग हात समात्दै नाचिरहेको तस्बिर शनिबार सार्वजनिक भएको छ । उनको निमन्त्रणाको विपक्षीहरुले पहिले नै आलोचना गरिरहेका थिए । तरपनि पश्चिमी राष्ट्रहरुले रुसविरुद्ध कारबाही अघि बढाइरहेकै समयमा पुटिन यस कार्यक्रममा सहभागी हुन अष्ट्रिया पुगेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
 
यसले अहिले युरोपले रुसविरुद्ध अपनाइरहेको रणनीतिलाई पनि कमजोर बनाइदिएको भनि विरोध जनाइएको छ भने अर्कोतर्फ यस वैवाहिक समारोहले पुटिनलाई चाहिँ कूटनीतिक समर्थन दिलाइरहेको छ । यस क्रममा युरोपसँग विभिन्न राजनीतिक समस्याका बीच पनि पुटिन ५३ वर्षीया नवदुलही करिनसँग रमाइरहेको देखा परेका हुन् । वास्तवमा पुटिनसँग मन्त्री करिनको राजनीतिक बााहेक अन्य कुनै नजिकी सम्बन्ध वा मित्रता नरहेको बताइन्छ । तर फार राइटको स्वतन्त्र पार्टी, एफपीओले करिनलाई नियुक्त गर्दा भने पुटिनको युनाइटेड रसिया पार्टीसँग सहयोग सम्झौता रहेको बताइएको थियो । 
 
यति मात्र नभएर युरोप पुगेको अवसरलाई सक्दो उपयोग गर्न पुटिनले बर्लिन बाहिर जर्मनीकी चान्स्लर एन्जेला मर्केलसँग पनि भेटवार्ता गरेका छन् । सो बैठकपूर्व उनले आफ्नो युरोपको यात्रा निकै राम्रो रहेको उल्लेख गरेका हुन् । यसअघि बेलायती एजेन्टमाथि रासायनिक हमला गरेको आरोपमा पश्चिमी राष्ट्रहरुले रुसमाथि प्रतिबन्ध जारी गरेका थिए । त्यसैगरी यही समयमा युरोपेली युनियनले पनि क्रिमिया र युक्रेन सम्बन्धी मुद्दाहरुमा रुससँग असन्तुष्टि जनाइरहेको छ जसकारण पनि हाल यस्तो निमन्त्रणा र पुटिनको उपस्थितिलाई आश्चर्यजनक मानिएको बताइएको हो ।
 
 
यस विषयमा अष्ट्रियाले भने पहिले देखि नै युरोपेली संघ र रुसबीचको विवादमा आफू तटस्थ रहँदै आएको प्रष्ट पारेको छ । त्यसैगरी यस समारोहमार्फत अन्तराष्ट्रिय मिडियामा पुटिनको अधिक चर्चा हुने हुँदा यो पनि रुसका निम्ति मूल्यवान् साबित हुने बताइएको छ । मार्केलसँगको भेटवार्तामा भने उनीहरुले सिरिया, युक्रेन लगायतका अति आवश्यक विषयमा छलफल गरेका हुन् । 
 
अहिले पुटिन युरोपसँगको विवादलाई अन्त्य गर्न निकै जोड दिइरहेका छन् । त्यसकारण पनि उनले मार्केललाई भेट्न जाँदा फूल लिएर गएका थिए जसले उनको व्यक्तित्वमा विशेष प्रभाव पार्ने विश्वास गरिएको हो जसबारे सबैतिर चर्चा भइरहेको छ । 
 
तरपनि रुसी प्रशासन क्रेम्लिनका प्रवक्ता डिमिट्री पेस्कोभले संचारकर्मीहरुसँग बताउँदै बैठक कुनै निष्कर्षमा नपुगेको र कुनैपनि विषयमा पूर्ण सहमति नभएको उल्लेख गरेका हुन् । 
 
दुवैबीच युक्रेन र सिरियामा चलिरहेको गृहयुद्धको विषयमा पनि कुरा भएको छ जहाँ रुस संयुक्त राष्ट्र संघको स्थायी सदस्य भएकाले र दुवै देशसँग नजिकी सम्बन्ध पनि रहेकाले यसमा रुसको भूमिका प्रमुख रहने मर्केलले बताएकी हुन् ।