दक्षिण भारतमा बाढीमा परि मृत्यु हुनेको सङ्ख्या ३५७ पुग्यो

भाद्र ०४,२०७५

-

४ भदौ, २०७५ एजेंसी
 
 
दक्षिण पश्चिम भारतमा विगत केही दिनदेखि निरन्तर परेको बर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३५७ पुगेको छ । 
 
पछिल्लो २४ घण्टामा ३३ जनाको मृत शरीरलाई डुबान क्षेत्रबाट निकालिएको अधिकारीहरूले बताएका छन् । बाढीका कारण हजारौँ नागरिक विस्थापित बनेका छन् । बाढी तथा पहिरोमा परी वेपत्ता बनेका नागरिकको खोजीका लागि सेना, प्रहरीसहितका उद्धारकर्मीहरू निरन्तर लागेका बताइएको छ ।
 
केरलाका सम्पूर्ण ग्रामिण इलाकामा सय बर्ष यताकै सबैभन्दा ठूलो विपद् आएको छ । अझै पनि धेरै इलाका पूर्णतया डुबानमा रहेकाले मृतक सङ्ख्यामा थप वृद्धि हुने देखिएको उद्धारमा सम्लग्न अधिकारीले जनाएका छन् । 
 
अधिकारीहरूका अनुसार सरकारले पहिलो प्राथमिकतामा बाढीका परी सङ्कटमा रहेका वस्तीहरूलाई राखेकाले बाढीका कारण भएका क्षतिहरूको विस्तृत विवरण आउन नसकेको बताएका छन् । 
 
केरलाका शहरी तथा ग्रामिण इलाकामा रहेका वस्तीहरूमा अझैपनि बाढी तथा डुबानको त्रास कायमै रहेको छ । मौसमसम्वन्धी पूर्वानुमान गर्ने भारतीय संघसंस्थाहरूले अझै आगामी दिनमा पनि बर्षा हुने र डुबानको समस्या थप विकराल बन्नसक्ने चेतावनी दिएका छन् । 
 
बाढी प्रभावित क्षेत्रका भारतीय एक युवक इन्द्रजीत कुमारले भन्नुभयो, गत हप्ता परेको बर्षासँगै आएको बाढीका कारण डुवानको समस्या आएको र विद्युत, खाद्यान्न, वास तथा खानेपानी विना विताएका दिन रात सम्झँदा अझैपनि होस उडेको छ । 
 
वरिपरी पानीले घेरिएको अवस्थामा खानेपानीको अभावमा तड्पिनुको पीडा सपनाजस्तो लागिरहेको छ, उनले भने । मे महिनामा मनसुन शुरु भएपछि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ३५७ पुगेको एक स्थानीय अधिकारीले पुष्टी गरे । उनका अनुसार गत २४ घण्टामा ३३ जनाको मृत शरीरलाई डुबान क्षेत्रबाट निकालिएको छ । 
 
थिस्रुरमा डुबानका कारण घरबाहिर निस्कन नसकेका व्यक्तिहरूको प्राय मृत अवस्थामा उद्धार गरिएको छ, उनले बताए । केरलाका कतिपय समथल क्षेत्रमा पानी १० देखि १५ फिटको उचाइसम्म पुगेको माला गाउमा उद्धार गरिरहेका असरफ अलि के एमले बताए ।