एउटा यस्तो चमत्कारिक घर जसले भित्ताबाट तेल र खरानी बगाउँछ भने महिला हुन्छिन् गर्भवती

भाद्र ०४,२०७५

-

४ भदौ, २०७५ एजेंसी
 
 
पश्चिमी सिड्नीस्थित एउटा तीनवटा बेडरुम भएको सामान्य घरले एकाएक ‘चमत्कारिक घर’ को उपमा पाएको छ । उक्त घरको भित्ताबाट बग्ने तेल र खरानीलाई विज्ञानले समेत पुष्टि गर्न नसकेको बताइएको छ । घर मालिक जर्ज र टिना तानाउसले उनीहरुको घरमा भगवानको कृपा परेको बताएका छन् । साथै, उक्त घर औषधीय गुणले भरिपूर्ण भएको दाबी गरेका छन् ।
 
उक्त जोडीका अनुसार उनीहरुको घरमा निःसन्तान दम्पत्तीलाई गर्भवती बनाउने अचम्मको शक्ति छ । मेडिकल परिक्षणमा गर्भवती बन्नै नसक्ने भनेका महिला पनि गर्भवती भएको घटनाबारे  उक्त जोडीले जानकारी दिएका छन् । साथै, उक्त घरले एउटी महिलाको क्यान्सरसमेत निको पारिदिएको दाबी गरेका छन् ।
 
सन् २००८ मा जर्ज र लिनाको १७ वर्षे छोरा माइकको कार दुर्घटनामा मृत्यु भएपछि पहिलो पटक उक्त घरको भित्ताबाट तेल बगेको थियो । उक्त तेल उनीहरुको छोराको आत्मा भएको ती जोडीको दाबी छ । उक्त तेलले छोराको जन्म मिति र क्रिस्चियनका विभिन्न धार्मिक प्रतिक पनि बनेको जर्ज र लिनाले दाबी गरेका छन् ।
 
‘मेरो छोराको आत्मा यो घरमा छ । उनी भगवान र जिससलाई माया गर्थे । उनी हाम्रो घरमा फर्किएका छन् र यो तेल उनको आत्मा हो,’ लिनाले भनिन् । ‘छोरा निकै धार्मिक थियो । उनको पिठ्युँमा क्रस ट्याटु थियो । उनी मानिसहरुको जीवन बचाउन चाहन्थे र आफ्नो मृत्यु पछि पनि छोराले यस्तै गरिरहेको छ ।’
 
सन् २००८ देखि तेल निष्कासनबारे विभिन्न अनुसन्धान गरिए पनि त्यो कहाँबाट आइरहेको छ भन्ने बारे सटिक जानकारी उपलब्ध छैन । अनुसन्धानले उक्त तेलमा पानी, सुन र युरोनियम भएको बताएको छ ।
 
डाक्टरले गर्भवती हुनै नसक्ने बताएकी एक महिलालाई उक्त घरले तेस्रो पटक गर्भधारण गर्न सहयोग गरेको घर मालिक जोडीले बताएका छन् ।  
 
उक्त घर हेर्न संसारका विभिन्न स्थानबाट हज्जारौं मानिस उपस्थित हुन्छन् । उक्त घरको फेसबुक पेजसमेत छ । यहाँ मानिसहरुले उक्त घरको अवलोकन गर्दा भोगेका अनुभवबारे साझा गर्छन् । एक प्रयोगकर्ताले उक्त पेजमा लेखेका छन्, ‘मेरो एक साथी पाँच वर्ष अघि न्यूरोब्लास्टोमा क्यान्सरबाट पीडित आफ्ना साढे दुई वर्षको छोराको उद्धारका लागि उक्त घर गएका थिए । अहिले उनको छोरा साढे आठ वर्ष पुगेका छन् पूर्ण रुपमा क्यान्सरमुक्त भएका छन् ।’
 
मानिसहरु घरबाट निस्कने उक्त तेल आफ्नो छालामा पनि लगाउने गर्छन्, स्वास्थ्य समस्या निको हुने आशामा ।
 
‘हामी तेललाई कपासमा जम्मा गर्ने गर्छौं र मानिसहरुलाई दल्न दिन्छौं । यसले साँच्चै नै मानिसहरुको रोग निदान गरेको छ, ’ लिना भन्छिन् । ‘हामी यसका लागि पैसा लिँदैनौं, कुनै दानपत्र छैन । हामीले हप्ताको पाँच दिन आगन्तुकका लागि घर खुल्ला गरेका छौं ।’
 
स्रोतका अनुसार ती दम्पत्तीले उक्त चमत्कारिक घर नाफाका लागि र मानिसहरुको ध्यान आफूतर्फ केन्द्रीत गर्न प्रयोग गरेका होइनन् । उनीहरु अन्तर्वार्ता दिन पनि अस्विकार गर्छन् ।