चूडाकरण संस्कार, महत्व एवं परिचय !

आश्विन ०७,२०७५

-माधव प्रसाद गर्तौला

७ असोज २०७५ काठमाण्डौ l

 

(८) चूडाकरण संस्कार

हिंदू धर्म संस्कारहरुमा चूडाकरण (मुण्डन, शिखा) संस्कार अष्टम संस्कार हो l अन्नप्राशन संस्कार गरिसकेपछि चूडाकरण संस्कार गरिने विधान रहेको छ l यो संस्कार बालक जन्मेको पहिलो अथवा तेस्रो वर्षमा गरिसक्नुपर्छ l यथा-

 

चूडाकर्म द्विजातीनां सर्वेषामेव धर्मत: l

प्रथमेऽब्दे कुर्वीत ब्राह्मणस्योपनायनम् l l (मनुस्मृति २/३५)

 

मनुस्मृतिको कथानानुसार द्विजातिहरु (ब्राह्मण, क्षत्रिय, वैश्य) को पहिलो या तेस्रो वर्षमा (अथवा कुलाचारको अनुसार) चूडाकरण संस्कार गराउनुपर्छ l यसको कारण यो हो कि आमाको गर्भबाट आएको टाउकाको कपाल अशुद्ध हुन्छ l अर्को कुरा त्यो कपाल प्राय: झर्नेपनि गर्छ l जसको कारणले गर्दा बालकको तेजवृद्धि हुन पाउंदैन l यी कपाललाई खौरिएर बालकको शिखा (टुपी) राखिन्छ l शिखा राखेको कारणले आयु एवं तेजको वृद्धि हुन्छ-

 

ॐ चिद्रूपिणि महामाये दिव्य तेजः समन्विते ।

तिष्ठ देवि शिखामध्ये तेजो वृद्धिं कुरुष्व में l l

 

बालकको टाउको लगभग तीन वर्षको अवस्थासम्म कोमल नै रहन्छ l तत्पश्चात् बिस्तारै-बिस्तारै कठोर हुन थाल्दछ l गर्भावस्थामै उसको टाउकोमा उम्रिएका कपालको छिद्रहरु यस अवस्थासंम केहि बन्द भएका हुन्छन् अतः यस अवस्थामा बालकको कपाललाई स्वच्छ ब्लेडले खौरिदिइयो भने टाउकाको फोहोर, किटाणु आदि नष्ट हुन्छन् l मुण्डन गरिंदा टाउकाको रोमछिद्रहरु पनि खुल्छन् l यसले नयाँ कपाल घना, मजबुत र स्वच्छ भएर निस्किन्छन् l

 

टाउकामा घना, बलियो र स्वच्छ कपाल हुनु अत्यन्तै आवश्यक छ किनकि यसले मस्तिष्कको सुरक्षा पनि गर्छ l ज्योतिषशास्त्रअनुसार कुनै शुभ मुहूर्त एवं शुभ समयमा नै यस संस्कारलाई गर्नुपर्छ l चूडाकरण संस्कारले बालकको दांत निस्किन पनि सजिलो हुन्छ भन्ने विश्वास रहेको छ l

 

यस संस्कारमा बालकको पहिलोपटक कपाल काटिन्छ l जन्मको प्रथम वर्षको अन्त्य अथवा तेस्रो वर्षको समाप्तिपूर्व चूडाकरण संस्कार गराउने प्रचलन रही आएको छ l हिंदू मान्यतानुसार एकवर्ष भन्दा कम उमेरमा चूडाकरण संस्कार गरियो भने बालकको स्वास्थ्यमा नराम्रो प्रभाव पर्छ र अमंगल हुने आशंका पनि रहन्छ l तर पनि कुलपरंपरानुसार समयमै गराउंदा उत्तम हुन्छ l

 

मान्यता यो हो कि बालकको मस्तिष्कलाई पुष्ट गर्न, बुद्धि विकसित गर्न तथा गर्भगत मलिन संस्कारहरुलाई निकालेर मानवतावादी आदर्शहरुलाई प्रतिष्ठापित गर्ने हेतु चूडाकरण संस्कार गरिन्छ l यसको फल बुद्धि, बल, आयु, तेजको वृद्धि गर्नु हो l यसलाई कुनै देवस्थल या तीर्थस्थानमा यसैले गराइन्छ ताकि त्यहाँको दिव्य वातावरणको पनि लाभ बालकलाई मिलोस् तथा खौरिएका कपालको साथ बच्चाको मनमा कुसंकारहरुको शमन हुन सकोस् साथै सुसंस्कारहरुको स्थापना हुन सकोस्-

 

तेन ते आयुषे वपामि सुश्लोकाय स्वस्त्ये ।

 

अर्थात् चूडाकर्म संस्कारले दीर्घ आयु प्राप्त हुन्छ l बालक सुन्दर तथा कल्याणकारी कार्यहरुमा प्रवृत्त हुन लाग्छ l वेदमा चूडाकर्म संस्कारको बारेमा विस्तारले चर्चा गरिएको छ l यजुर्वेदमा लेखिएको छ-

 

निवर्त्तयाम्यायुषेन्न्नाद्याय प्रजननाय ।

रायस्पोषाय सुप्रजास्त्वाय सुवीर्याय ।।

 

अर्थात् हे बालक ! म तिम्रो दीर्घायुको लागि, तिमीलाई अन्न ग्रहण गर्न समर्थ बनाउनको लागि, उत्पादन शक्ति प्राप्त गर्नको लागि, ऐश्वर्य वृद्धिको लागि, सुंदर सन्तानका लागि एवं बल तथा पराक्रमका लागि चूडाकर्म संस्कार गर्दैछु l

 

उल्लेखनीय छ कि चूडाकर्म वस्तुतः मस्तिष्कको पूजा या अभिवंदना हो l मस्तिष्कको सर्वश्रेष्ठ उपयोग गर्नु नै बुद्धिमत्ता हो l शुभ विचारहरुको धारण गर्नेवाला व्यक्ति परोपकार या पुण्यलाभ प्राप्त गर्दछ र अशुभ विचारहरुलाई मनमा भरिरहनेवाला व्यक्ति पापी बनेर ईश्वरीय दण्ड र कोपको भागी बन्दछ l यहाँसम्म कि आफ्नै जीवन-प्रक्रियालाई पनि नष्ट-भ्रष्ट पार्छ l अतः मस्तिष्कको सार्थक सदुपयोग नै चूडाकर्म संस्कारको वास्तविक उद्द्येश्य हो l

यो पनि पढ्नुहोस्- अन्नप्राशन संस्कार, महत्व एवं परिचय !