उत्तरको सन्देश लिएर अमेरिका पुगे दक्षिण कोरियाली राष्ट्रपति

आश्विन ०८,२०७५

-

 ८ असोज २०७५ काठमाण्डौ l
 
 
दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्न आइतबार अमेरिका प्रस्थान गरेका छन् । उत्तर कोरियाली नेता किम जोङ उनसँग गत साता तेस्रो द्विपक्षीय शिखर बैठक गरेलगत्तै राष्ट्रपति मुनले अमेरिका भ्रमण गरेका हुन् । मुनले अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक गराउन पहल गर्ने अपेक्षा गरिएको छ ।
 
 
अमेरिका रहँदा राष्ट्रपति मुनले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै अन्तर–कोरियाली शिखर बैठकका परिणामबारे विश्व समुदायलाई जानकारी गराउनेछन् ।
 
 
‘राष्ट्रपति मुनले तेस्रो अन्तर–कोरियाली शिखर बैठकमा उत्तर कोरियाली नेतासँग भएका छलफलका प्रगतिबारे अमेरिकी राष्ट्रपति र विश्व समुदायलाई जानकारी गराउनेछन्,’राष्ट्रपतिको सुरक्षा कार्यालयका वरिष्ठ निर्देशक नाम ग्वान प्योले भने ।
 
 
मुनले उत्तर कोरिया र अमेरिकाबीच हाल स्थगित वार्ता पुनः सुरु गराउन अमेरिकी राष्ट्रपतिसँग विस्तृत रूपमा छलफल गर्ने कार्यक्रम रहेको पनि नामले बताए ।
 
 
उत्तर कोरियाले व्यक्त गरेका प्रतिबद्धताबमोजिम आणविक निःशस्त्रीकरणका कार्य नभएको भन्दै असन्तुष्टि जनाएको अमेरिकाले पछिल्ला दिनमा राजनीतिक भेटघाट स्थगित गरेको छ । राष्ट्रपति ट्रम्पले विदेशमन्त्री माइक पोम्पेओको पूर्वनिर्धारित उत्तर कोरिया भ्रमणसमेत अन्तिम समयमा स्थगित गरिदिएका थिए ।
 
 
तर, मुन र किमले जारी गरेको संयुक्त वक्तव्यमा उत्तर कोरियाले डोङचाङ–रीस्थित क्षेप्यास्त्र परीक्षण केन्द्र र प्रहार केन्द्रहरू बन्द गर्ने सहमति जनाएको छ । सोही केन्द्रबाट लामो दूरीका क्षेप्यास्त्र प्रहार गर्न सकिने र ती क्षेप्यास्त्रमा अमेरिकासम्म प्रहार गर्न सक्ने क्षमता रहेको बताइन्छ ।
 
 
अमेरिकाले सकारात्मक धारणा अघि सारे उत्तर कोरियाले योङब्योनमा रहेको मुख्य आणविक केन्द्र पनि बन्द गर्ने प्रतिबद्धता जनाएको छ ।
 
 
मुनले उत्तर कोरियाली नेता किमलाई यसै वर्षभित्र सिउल भ्रमण गर्न आमन्त्रण गरेका छन् । एजेंसी