नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली

आश्विन ०८,२०७५

-

 ८ असोज २०७५ काठमाण्डौ l 
 
 
न्युयोर्क ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हासिल गरेको उपलब्धि विश्वसामु प्रस्तुत गर्न संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनलाई उपयोग गरिने बताउनु भएको छ ।
 
उहाँले जनताको समृद्धि र खुशीका प्रयासमा थप अन्तर्राष्ट्रिय समर्थन जुटाउन र राष्ट्र सङ्घलाई जनतासँग थप सम्बन्धित बनाउन महासभाको अधिवेशन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
 
 
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क आइपुग्नुभएको छ र उहाँको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी हुनुहुन्छ । सोही अवसरमा न्युयोर्कमा नेपाल टेलिभिजन र राससले सोधेका केही प्रश्नको उत्तरमा मन्त्री ज्ञवालीले उक्त कुरा बताउनुभएको हो ।
 
 
उहाँले नेपालमा निकै लामो सङ्घर्षपछि प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान निर्माण गरिएको र त्यसलाई कार्यान्वयन गर्न तीन तहको निर्वाचन भएको उल्लेख गनुभयो । उहाँले मुुलुक राजनीतिक स्थायित्वको नयाँ युगमा प्रवेश गरिरहेको र यस अवस्थामा नेपालले हासिल गरेका उपलब्धि सरकारले विश्वसमक्ष प्रस्तुत गर्न चाहेको धारणा व्यक्त गर्नुभयो ।
 
 
मन्त्री ज्ञवालीले नेपालको युगान्तकारी परिवर्तनमा राष्ट्र सङ्घलगायत अन्तर्राष्ट्रिय समुदाय सबैको सद्भाव रहेको र नेपाल सरकारले यस उपलब्धिलाई नेपाली जनताको आर्थिक जीवनसँग जोड्न चाहेको बताउनुभयो । उहाँले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा नेपालका मित्रहरूलाई बुझाउने, यसमा पनि उनीहरूको साथ र समर्थन जुटाउने र त्यसलाई प्राप्त गर्न आग्रह गर्न राष्ट्र सङ्घको महासभालाई उपयोग गर्ने उद्देश्य राखिएको छ भन्नुभयो ।
 
 
राष्ट्र सङ्घकै विषयमा सोधिएको एक प्रश्नमा परराष्ट्रमन्त्री ज्ञवालीले यस विश्व संस्थाको भूमिकाकै विषयमा नयाँ सोच र नारा अगाडि सारिएको र यसलाई सबै जनतासँग सम्बन्धित बताउन शान्त, समतापूर्ण र दिगो विकासयुक्त समाज निर्माण गर्न सबैले आफ्नो स्थानबाट काम गरून् भन्ने यस महासभाको नारा भएको उल्लेख गर्नुभयो । उहाँले राष्ट्र सङ्घलाई समायनुकूल बनाउनुपर्छ भन्ने विषय नेपालले धेरै अगाडिदेखि उठाउँदै आएको जानकारी दिनुभयो ।
 
 
मन्त्री ज्ञवालीले दिगो विकासको योजनाको १२ वर्ष बाँकी रहेको, त्यसलाई प्राप्त गर्न विशेष प्राथमिकताका साथ कार्य गर्न नसकिएको र युद्धमा भएका खर्चको निकै सानो भाग मात्र स्वास्थ्य तथा शिक्षामा खर्च हुने गरेको बताउनुभयो । उहाँले महासभाको अधिवेशनबीच विभिन्न मुलुकका सरकार प्रमुखसँग हुने भेटघाट तथा छलफल नेपालको कूटनीतिक सम्बन्ध विस्तार गर्न उपयोगी हुने ठानिएको उल्लेख गर्नुभयो ।
 
 
मन्त्री ज्ञवालीले बहुपक्षीयतासम्बन्धी र मानव जातिले भोगेको समस्या समाधान गर्न साझा र समन्वयात्मक प्रयासको खाँचो भएको बताउनुभयो । उहाँले बहुपक्षीयतामाथि विभिन्न प्रश्न उठाइएको, वस्तु, सेवा र आवागमनमा विभिन्न अवरोध सिर्जना हुन थालेको र विश्वव्यापीकरणलाई उल्ट्याउन केही मुलुकले संरक्षणवादी नीति बनाएर लाद्न खोजेको उल्लेख गर्नुभयो । उहाँले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता, मानव अधिकार परिषद् र विश्व व्यापार सङ्गठन जस्ता बहुपक्षीय प्रयासलाई कमजोर पार्ने प्रयास भएको उदाहरण दिनुभयो ।
 
 
उहाँले हाल संयुक्त राष्ट्र सङ्घको भूमिकामा प्रश्न उठाउन थालिएको र विकासोन्मुख मुलुकलाई विकसित देशले दिएको योगदान कटौती हुँदै गएको बताउनुभयो । उहाँले यी समस्या समाधान गर्न, संयुक्त राष्ट्र सङ्घको भूमिका प्रभावकारी बनाउन र बहुपक्षीयताका कुरालाई बहुपक्षीय, क्षेत्रीय र विश्वव्यापी रूपमा उठाउन नेपालले चाहेको छ भन्नुभयो । –रासस