अमेरिकाविरुद्ध व्यापार युद्धको चीनले यसरी गर्दैछ सामना

आश्विन ०९,२०७५

-

 ९ असोज २०७५ काठमाण्डौ l 
 
 
 
बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि २०० अर्ब डलर बरारबका चिनियाँ सामग्रीमा लगाएको १० प्रतिशत शुल्क सोमबारदेखि अमेरिकामा लागू हुँदैछ । यसले अमेरिकामा बिक्री हुने ६ हजार भन्दा बढी उत्पादनहरुमा असर पुर्याउने बताइएको छ, जसमा ह्यान्डब्यागदेखि टेक्सटाइल सम्मका वस्तुहरु पर्दछन् ।
 
 
यसको अर्थ चीनले बिक्री गर्दै आएका आधा भन्दा बढी सामानहरु अमेरिकी शुल्क वृद्धिको शिकार हुने निश्चित छ तर चीन पनि यसमा शान्त भएर चाहिँ बसेको छैन । चीनले पनि ६० अर्ब बराबरका अमेरिकी वस्तुमा ५ देखि १० प्रतिशतले कर वृद्धि गराउने घोषणा गरिसकेको छ । वास्तवमा अमेरिकाले पनि चिनियाँ भूमिँमा थुप्रै ठूला कम्पनीहरु सञ्चालन गर्दै आइरहेको छ । त्यसकारण यस व्यापारिक युद्धमा चीन एक्लैले नोक्सान बेहोर्नुपर्ने स्थिति नआउने बताइएको हो । उता चिनियाँ कम्पनीहरुले पनि आफ्नो देशको सरकारप्रति पूर्ण विश्वास रहेकाले बताउँदै चिन्तामुक्त भएर बसेको देखिएको छ ।
 
 
चिनियाँ अधिकारीहरुका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि अन्यायपूर्ण व्यापारको आरोप लगाइरहँदा उनीहरुले पनि चीनबाट उत्तिकै फाइदा लिने गरेका छन् । चीनमा स्थिपित थुप्रै ठूला कम्पनीहरुले अमेरिकामा भन्दा चीनमा बढी आम्दानी गरिरहेको उनीहरुको भनाइ छ । त्यसैगरी अमेरिकी विमान निर्माणकर्ता बोइङ कम्पनीले पनि चीनलाई नै सबैभन्दा बढी विमान विक्री गर्दै आइरहेको छ । त्यस्तै वालमार्टले पनि चीनमै धेरै वस्तु उत्पादन गर्ने गरेको पाइन्छ । यस्तोमा अमेरिकाले आफ्नै देशभित्र भन्दा चीनमा बढी उत्पादन गर्न पाइरहँदा पनि यस प्रकारको प्रतिक्रिया दिनु उचित नभएको चिनियाँ कम्पनीहरुले बताएका हुन् ।
 
 
तर अमेरिकाले भने बारम्बार चीनको व्यापार नीतिमाथि प्रश्न उठाउँदै नियम विपरित कारोबार गरिरहेको आरोप लगाउने गरेका छन् । यस्तोमा अमेरिकाले विश्व व्यापार संगठन समक्ष असन्तुष्टि व्यक्त गर्नु स्वभाविक पनि मानिएको छ । तरपनि यस विरुद्ध ट्रम्पले अपनाइरहेको रणनीतिलाई भने धेरैले अनुचित पनि ठहर गरिरहेको पाइएको छ । उता चिनियाँ जनताले भने यसलाई राष्ट्रिय गौरवसँग तुलना गर्दै आफूलाई सरकारप्रति पूर्ण विश्वास रहेको बताइरहेका छन् । यस्तोमा अमेरिका चीनको आर्थिक वृद्धिसँग खुसी नभएकाले पनि व्यापारिक युद्धमार्फत हावी हुन खोजेको धेरैको बुझाइ छ । यसकारण पनि राष्ट्रपति जिनपिङले अमेरिका समक्ष नझुक्ने संकल्प लिएको बताइएको छ र आफ्नो आर्थिक बल प्रस्तुत गर्न पछि हटिरहेको छैन । यस्तोमा चीनले आगामी समयका लागि लामो लडाईँको तयारी गर्नुपर्ने बताइएको हो ।