यदि तपाईं सफल जिन्दगी जिउन चाहनुहुन्छ भने यसो गर्नुहोस्

आश्विन ०९,२०७५

-

९ असोज २०७५ काठमाण्डौ l 
 
 
जीवन बाँच्नका लागि रोटी, कपडा र घर आवश्यक हुन्छ तर एउटा अर्को कुरा पनि जरूरी हुन्छ । के होला त्यो ? सफलता नै त्यो आवश्यक चीज हो जसले जीवनलाई पूर्णता दिन्छ । तपाईं सफल भएर नै आफ्नो फरक लक्ष्य बनाउन सक्नुहुन्छ ।
 
संसारमा दुईथरी मानिस छन् स् सफल र असफल । सफल मानिसले के गरेर लगातार सफलता हासिल गरेका हुन् अनि असफल मानिसले कुन गल्ती बारम्बार दोहोर्याएर असफल भइरहेका हुन् ?
 
 
यदि तपाईं सफल जिन्दगी जिउन चाहनुहुन्छ भने सर्वप्रथम सफलताको परिभाषा जान्नुहोस् । तपाईंको चाहना के हो ? पैसा, मित्र, अथवा मृत्युपछि सबैले प्रशंसा गर्ने जीवन ?
 
उद्देश्य निश्चित गर्नुहोस आफ्नो जिन्दगीमाथि कहिले घोत्लिनु भएको छ ? जीवनमा के बन्छु भन्ने लागेको छ ? जीवनको परिभाषा के हो र यसमा तपाईंको भूमिका के हो ? यसबारेमा हरेकले सोच्नुपर्छ ।
 
तपाईं अत्यधिक पैसा कमाउन चाहनुहुन्छ ? एउटा चिटिक्क परेको घर, सफल व्यवसाय, सुविधायुक्त कार चाहनुहुन्छ ? अथवा यदि सिर्जनशील हुनुहुन्छ भने तपाईंको ध्यान समस्या समाधान गर्नतिर होला, जुन अहिलेसम्म समाधान नभएको होस् । आफ्नो परिवारको राम्रो हेरचाह गर्ने उद्देश्य हुन सक्छ । अथवा कुनै उद्देश्य नै नहुन सक्छ । एकपछि अर्को दिनहरू जसोतसो कटाउँला भन्ने सोचाइ पनि हुन सक्छ ।
 
यदि जिन्दगीको उद्देश्य थाहा पाउन चाहनुहुन्छ भने त्यसका लागि उपयुक्त समय र स्थानको आवश्यकता पर्छ । यस्तो ठाउँ पत्ता लगाउनुहोस्, जहाँ बस्दा ध्यान अन्यत्र नमोडियोस् । शान्त ठाउँमा जानुहोस् । नोट गर्नका लागि कागज र डटपेन बोक्नुहोस् । कम्प्युटर, फोन स्विचअफ गरिदिनुहोस्। यदि जिन्दगीको लक्ष्य पत्ता लगाइसक्नु भएको छ भने तलका कुराहरूलाई पनि ध्यान दिनुहोस् l 
 
 
जिन्दगीको मुख्य लक्ष्य के हो ?
 
 
म मेरो परिवार, आफन्त, साथीभाइहरूको राम्रो हरेचाह गर्न चाहन्छु ।
जिन्दगीमा कुनै उद्देश्य छैन ।
संसारभर प्रसिद्ध हुन चाहन्छु ।
आफ्नो क्षेत्रमा निर्णायक हुन चाहन्छु ।
करोडपति बन्न चाहन्छु ।
राजनीतिक नेता बन्न चाहन्छु ।
 
 
आफैंलाई चिन्न थाल्नुहोस्
 
लक्ष्यमा पुग्न तपाईंले सुरुमा आफैंलाई चिन्नुपर्छ । आफूले कुन क्षेत्रमा राम्रो गर्न सक्छु जस्तो लाग्छ, त्यतातिर समय बिताउनुहोस् । त्यसले तपाईंलाई सन्तुष्टि दिनुपर्छ । सजिलै जीवनयापन गर्न सकिने पनि हुनुपर्छ । काम गर्दा कुनै दिक्दारी नलागोस्, ऊर्जा थपियोस् । सोच्नुहोस्, कुन क्षेत्रमा लाग्दा सफलता पाउन सकिन्छ ।
 
उद्देश्य पत्ता लगाउनुहोस्
 
आफ्नो जीवनको लक्ष्य तपाईं आफैंले पत्ता लगाउनुपर्छ । अरूको सल्लाह लिन सक्नुहुन्छ तर निर्णय आफैंले लिनुपर्छ ।
 
चुप लागेर नबस्नुस्
 
हरेक दिन नयाँ कुरा सिक्ने प्रयास गर्नुहोस् । यो अनिवार्य छ । जिज्ञासु बन्नुहोस् । जीवनको लक्ष्य के हो भन्ने थाहा पाएपछि त्यसलाई पूरा गर्न प्रतिबद्ध हुनुहोस् । यस्ता लक्ष्यहरू वर्षैपिच्छे परिवर्तन हुन सक्छन् । यो कुनै समस्या हैन, जिन्दगीको अभिन्न अंग हो र सिक्ने मौका पनि । यस्ता परिवर्तन भौतिक सरसुविधादेखि अन्य धेरै कुरामा हुन सक्छ ।
 
एउटै कुरा सोच्न छाडिदिनुहोस्
 
लामो समयसम्म तपार्ईं एउटै योजनामा चल्नु भएको होला । स्कुलमा छँदा जे कुरा सिक्नुभयो, त्यही घेराभित्र रुमलिनु भएको होला । कहिलेकाहीँ सोचिरहेको र लागिरहेको सत्यबाट बाहिर आउँदा केही बिग्रिँदैन । बरु ‘रिफ्रेस’ भइन्छ । आफ्नो उद्देश्य पत्ता लगाउन धेरैबेर सोच्नुहोस् । आफ्नो सिर्जनशीलताको प्रयोग गर्नुहोस् ।
 
कहिलेकाहीँ विभिन्न समस्याले तपार्ईं नयाँ कुरा सोच्नै सक्नुहुन्न । तपाईंको सोचाइलाई बाधा पार्ने ती चीजहरू कहाँबाट आउँछन्, पत्ता लगाउनु होस् । यदि थाहा पाउन गाह्रो हुन्छ भने विगतमा तपाईंलाई केही कुराले नकारात्मक प्रभाव पारेको थियो होला !
 
आफ्नो उद्देश्य लेख्नुहोस्–
 
आफ्नो उद्देश्यको बारेमा राम्रोसँग सोचविचार गर्नुभयो भने मात्रै त्यसमा तपाईंले सफलता पाउन सक्नुहुन्छ । व्यस्त र तनावयुक्त जिन्दगीले योजनालाई भताभुंग बनाइदिनसक्छ । आफ्नो जीवनको लक्ष्य कागजमा लेख्नुहोस् र त्यसलाई हरेक दिन देखिने ठाउँमा टाँसिदिनुहोस्, जसमा हरेक दिन आँखा परोस् ।
 
योजना छ भने सुरु गरिहाल्नुहोस् । दिउसै सपना नदेख्नुहोस् । आफ्नो योजनाको बारेमा अरूलाई नबताउनुहोस् । कुरा हैन, काम थाल्नुहोस् । योजना महत्वाकांक्षी छ भने बिस्तारै अघि बढ्नुहोस् । आफ्नो काममा स्पष्ट हुनुहोस् । सपना पूरा गर्न पाइला चालिरहनुहोस् ।
 
तपाईंले गरेको काममा अरूले के भन्छन् भनेर चासो दिन छाडिदिनुस् । कहिलेकाहीँ तपाईं आफैं पनि विभिन्न कुराहरूले भड्किन सक्नुहुन्छ । झिनामसिना कुरालाई धेरै महत्व नदिनुहोस् । अरूले के गर्छन् भनेर बुझ्नतिर समय खेर नफाल्नुहोस् । बढी समय खर्च हुने र ऊर्जा लाग्ने समस्या पत्ता लगाउनुहोस् र त्यसलाई जतिसक्दो छिटो समाधान गर्नुहोस् l 
 
सहयोग माग्नुहोस् आफैंलाई विश्वास गर्नुहोस् । आफ्नो क्षमतामाथि नजरअन्दाज नगर्नुहोस् । आफ्नो दक्षता के हो र केले आफूलाई ऊर्जा दिन्छ भन्ने निश्चित गर्नुहोस् । आफ्नो योजना केही मान्छेलाई सुनाएर उपयुक्त सल्लाह लिन सक्नुहुन्छ ।
 
तपाईंको योजनालाई अरू दक्ष मान्छेहरूले सहयोग गर्न सक्छन् । तिनीहरू को–को हुन सक्छन्, टिप्नुहोस् । अरूसँग प्रतिस्पर्धा गर्ने हैन, लक्ष्य के हो त्यसअनुसार काम गर्ने हो । योजना के हो र त्यसमा कस्ताले कस्तोखाले सहयोग गर्न सक्छन्, सोच्नुहोस् । उद्देश्य पूरा गर्न विभिन्न व्यक्तिसँग परामर्श लिनुपर्ने हुन सक्छ ।
 
उपयुक्त लाग्ने पात्रहरूलाई भेटिरहनुहोस् । कसैलाई पर्खिनु एकदमै ‘बोरिङ’ हुन्छ । कहिलेकाहीँ त सम्बन्धै बिग्रिन सक्छ । त्यसैले समयलाई ख्याल गर्नुहोस् । सकारात्मक हुनुहोस् योजना सफल भएन भनेर तनाव नलिनुहोस् । असफलतालाई छाडिदिनुहोस्, सफल व्यक्तिहरूसँग सल्लाह लिनुहोस् । अरू पनि तपाईंजस्तै, तपाईंले नै गरिरहेको काममा, पहिला असफल भएर पछि सफल भएकाहरू हुन सक्छन् । तिनलाई भेट्नुहोस् । अनुभव सुन्नुहोस् ।
 
असफलतामा अरूलाई दोष दिनुको तुक हुँदैन । असफलताबाट पाठ सिक्नुपर्छ । योजना बनाउनुहोस्, काम गर्नुहोस् । तर, कामबाट नभाग्नुहोस् । आफ्नो उद्देश्यमा दृढ हुनुहोस् ।
मेहनत गर्नुहोस् मेहनत नगरी सफलता पाइँदैन । यसका साथै दैनिक जीवनलाई पनि ख्याल गर्नुपर्छ । स्वास्थ्यमा ध्यान दिनुपर्छ । हप्तामा ६ दिन खुबै मेहनत गर्नुहोस्, एक दिन आराम गर्नुहोस् । यसले काम र आरामलाई सन्तुलनमा राख्छ । दैनिक कति समय परिवारका निम्ति छुट्याउन सक्नुहुन्छ ? काम र सम्बन्धलाई सन्तुलनमा लिएर हिँड्नुहोस् ।
 
अरूको सफलतालाई मात्र नहेर्नुहोस् l अहिलेको समयमा सामाजिक सञ्जाल नै सफलताको संकेत जस्तो देखिएको छ । हरेक सफलता यहाँ प्रतिविम्बित हुन्छ । सामाजिक सञ्जालमा हरेकले आफ्ना राम्रा पक्षहरूलाई मात्र देखाउँछन् । असफलताका संकेतहरू भेट्न मुस्किल हुन्छ, यहाँ । उही लक्ष्य प्राप्त गर्ने सिलसिलामा बारम्बार असफल भएकाहरू तपाईंका लागि ‘रोल मोडल’ बन्न सक्छन् । 
 
सफल मानिसका पछाडि धेरै चुनौती र समस्या हुन सक्छ । तर, यो कुरा बाहिर आउँदैन । त्यसैले अरूको सफलतालाई मात्र हेरेर लक्ष्य बनाउनु हुँदैन ।
 
 
यदि लक्ष्य पूरा गर्ने सिलसिलामा असफल हुनुभयो भने त्यसले हतास बनाउन सक्छ । रिस उठाउँछ । तर मुख्य कुरा, कतिपटक असफल हुनुभयो भन्ने हो । एक पटक असफल भएपछि फेरि प्रयास गर्न केही समय विश्राम लिनुहोस् । आजको भयंकर समस्या भोलि सामान्य बनिदिन सक्छ । समस्यालाई सामान्य तरिबाट बुझ्नुहोस् । आफैंलाईं सोध्नुहोस्, मैले किन समस्यालाई ठूलो रूपमा सोचिरहेको छु ।
 
तपाईंले भोग्नुपरेको समस्या अरूलाई सुनाउनुहोस् । हरेकसँग समस्यालाई हेर्ने आ–आफ्नो दृष्टिकोण हुन्छ । उनीहरूले सल्लाह दिन सक्छन् । डरले तपाईंलाई सधैं कमजोर बनाउँछ । त्यसैले नडराउनुस् ।
 
जिन्दगीमा कुनै स्पष्ट उद्देश्य छैन ?
 
सबै मान्छेले जिन्दगीमा खास लक्ष्य बोकेर हिँड्छन् भन्ने हैन । तपाईंसँग पनि नहुन सक्छ । धन्दा नमान्नुस् । भविष्यमा के बन्ने र के गर्ने भनेर निर्क्यौल गर्न समय लाग्छ । यसका अनेक चुनौती पनि छन् । सोच्नुहोस्......