विपद् व्यवस्थापनसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन आजबाट सुरु

आश्विन ०९,२०७५

-

असोज ९,२०७५ काठमाडौं ।
 
 विपद् व्यवस्थापनसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ ।
 
नेपाली सेना र अमेरिकी सेना प्यासिफिकले संयुक्त रुपमा आयोजना गरेको चार दिने सम्मेलनमा विपद व्यवस्थापन सम्बन्धमा विज्ञहरुसँग छलफल र तालिम आयोजना गरिने नेपाली सेनाले जनाएको छ ।
 
कार्यक्रमको उद्घाटन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले विपद् व्यवस्थापनमा सबैको सहकार्य र सहयोग आवश्यक रहेको बताए । नेपालमा २०७२ सालमा गएको भूकम्पका बेला विदेशी दातृ निकायले गरेको सहयोग सराहनीय भएको र नेपाली सेना पनि भविष्यमा अन्य मुलुकहरु पर्ने विपद्का बेला सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।
 
सम्मेलनकै क्रममा आयोजना गरिएको  पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता सहायकरथी गोकुल भण्डारीले सम्मेलनमा भारत, चीन, श्रीलंका, क्यानडा, इजरायल, सिंगापुरलगायत मुलुकका ६४ जना र नेपालका तर्फबाट विभिन्न सुरक्षा निकायका ३०२ प्रतिनिधि सहभागी भएको जानकारी दिए ।
 
विपद ब्यवस्थापन निर्देशनालयका प्रमुख सहायक रथी जीतबहादुर गुरुङले विपद् ब्यवस्थापनसम्बन्धी सम्मेलन सन् २०११ बाट हरेक दुई वर्षमा आयोजना गर्ने गरिएको भए पनि आगामी दिनमा प्रत्येक वर्ष सम्मेलन गर्ने जानकारी दिए ।