वैज्ञानिकहरुको जलवायु परिवर्तनका एजेन्डा राजनीतिक छ : डोनाल्ड ट्रंप

आश्विन ३०,२०७५

-

३० असोज २०७५ काठमाण्डौ l 
 
 
 
बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तन सम्बन्धि प्रस्तुत गरिएको रिपोर्टमा वैज्ञानिकहरुको राजनीतिक एजेन्डा रहेको आरोप लगाएका छन् ।  ट्रम्पले वातावरण र मौसम सम्बन्धि विवादास्पद टिप्पणी गरेको यो पहिलोपटक भने होइन । २०१६ को चुनाव प्रचार अभियानमा पनि उनले जलवायु परिवर्तन मान्छेले फैलाएको भ्रम मात्र हो भन्ने अनौठो ठहर गरेका थिए । 
 
 
त्यसबेला उनको उक्त भनाईको विश्वभर चर्चा भएको थियो । यसपछि राष्ट्रपति नियुक्त हुनासाथै उनले १८७ राष्ट्र आबद्ध रहेको पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई बाहिर निकाली अर्को विवाद खडा गरेका थिए । उक्त निर्णयपछि उनको चौतफी आलोचना भएको थियो । 
 
 
आइतबार उनले पृथ्वीको बढ्दो तापक्रमका लागि मानिस नै जिम्मेवार रहेकोबारे आफू ठूलो शंकामा रहेको बताएका हुन् । तरपनि आफूले जलवायु परिवर्तनको विषय भ्रम हो भन्ने यसअघिको धारणा चाहिँ परिवर्तन गरेको उनले स्पष्ट पारे । एक हप्ता अगाडि मात्र विश्वका वरिष्ठ वैज्ञानिकहरुले पृथ्वीको वातावरण सम्बन्धि समस्या अन्तिम अवस्थामा पुगिसकेको भन्दै चेतावनीपूर्ण रिपोर्ट प्रस्तुत गरेका थिए । त्यसैबारे बोल्दैगर्दा उनले सिबीएससँगको एक घण्टा लामो अन्र्तवार्तामा उनले यस्तो भनेका हुन् ।
 
 
आफूले वैज्ञानिकहरुको राजनीतिक एजेन्डाका लागि खरबौँ डलर खर्च गर्न नचाहेको उनको भनाइ छ । यसले लाखौँ मानिसको रोजगारीलाई पनि जोखिममा पार्ने हुँदा अमेरिकाका कुनैपनि व्यवसायी वा कामदारलाई नोक्सान हुने निर्णय नलिने ट्रम्पले बताए । यही कारणले यसअघि आफू पनि पेरिस सम्झौताबाट बाहिरिएको उनले बताए । यति मात्र नभएर उनले पृथ्वीको तापक्रम केही समयमै यथावत् हुन सक्ने बताउँदै ठूलो चिन्ताको विषय नरहेको उल्लेख गरेका छन् ।
 
 
उता मौसमविद्हरुले भने मानव व्यवहारले निम्त्याएको यो समस्या अहिले समाधान नगरिए पृथ्वीको तापक्रम तीन डिग्री पुग्ने र मानव जीवन समेत संकटमा पर्न सक्ने चेतावनी दिइसकेका छन् । यस्तोमा ट्रम्पको नयाँ विवादास्पद अभिव्यक्तिले फेरि नकारात्मक प्रतिक्रिया पाइरहेको छ ।