सार्वजनिक यातायात सञ्चालन नहुँदा यात्रुलाई कठिनाई

कार्तिक ०५,२०७५

-

 ५ कार्तिक २०७५ काठमाण्डौ l 
 
 
बेत्रावती। दशैँ पर्वको समयमा बन्द भएका सार्वजनिक यातायातको साधन अझै निर्वाधरुपमा सञ्चालन नहुँदा नुवाकोटका यात्रुले कठिनाइ भोगेका छन् । 
 
 
फूलपातीको दिनदेखि बन्द भएका सार्वजनिक यातायातको टिकट काउन्टर सञ्चालन नहुँदा यात्रुले तोकिएकोभन्दा बढी भाडा र क्षमताभन्दा बढी यात्रु भएर यात्रा गर्न बाध्य भएका हुन् । 
 
 
यातायात व्यवसायीले दशैँ पर्वमा पर्याप्त सङ्ख्यामा गाडी सञ्चालनमा रहेको दाबी गरे पनि यात्रुको सङ्ख्यामा वृद्धि र गाडी नियमितभन्दा निकै कम सञ्चालन भएको जिल्ला प्रहरी प्रमुख (एसपी) वसन्तबहादुर कुँवरले जानकारी दिए ।  
 
 
उनका अनुसार बन्द रहेका टिकट काउन्टर अझै सञ्चालन नहुँदा जिल्लामा सञ्चालित नियमित गाडी निकै कम चलेको र ती गाडीले तोकिएको भन्दा बढी यात्रु बोक्ने र बढी भाडा असुल गरेको सूचनाको आधारमा आइतबार एकैदिन २४९ सवारी साधन कारवाहीमा परेका छन् । 
 
ती सवारीबाट रु एक लाख ८१ हजार ५०० राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक नरहरि अधिकारीले जानकारी दिए । सामान्य समयको भन्दा निकै कम सङ्ख्यामा गाडी चलेको अवस्थामा राजश्व सङ्कलन भने धेरै गुणा बढी भएको उनको भनाइ छ । 
 
 
दशैँको समयमा यात्रुको सङ्ख्या वृद्धि हुने भएकाले यातायात व्यवसायीसँग समन्वय गरी पर्याप्त सङ्ख्यामा गाडी सञ्चालन गराउन प्रशासनले पहल नगर्दा यात्रुले क्षमताभन्दा बढी यात्रु भएर आवतजावत गर्न र बढी भाडा तिर्न बाध्य भएको बेलकोटगढी नपा–६ का नवराज पनेरुले गुनासो गरे । रासस