भारत र चीनबीच आन्तरिक सुरक्षा सहयोगका विषयमा चर्चा हुँदै

कार्तिक ०५,२०७५

-

 पहिलोपटक भारत र चीनबीच आन्तरिक सुरक्षाबारे समझदारी हुँदै
 
नयाँ दिल्ली  । भारत र चीनबीच आन्तरिक सुरक्षा सहयोगका विषयमा समझदारी गर्ने तयारी गरिएको छ । चीनका सार्वजनिक सुरक्षा सम्बन्धी मन्त्री झाओ केझीको सोमबारदेखि हुने भ्रमणका क्रममा उक्त समझदारी गर्न लागिएको हो । 
 
 
समाचार एजेन्सीहरुका अनुसार यसप्रकारको सझौता दुई देशबीच पहिलो पटक हुन लागेको हो । चिनिया मन्त्रीले भारतका गृहमन्त्री राजनाथ सिंहसँग यस विषयमा समझदारी गर्ने तयारी गरिएको छ । उनीहरुले दुई देशबीच सुरक्षा गतिविधिका बारेमा सूचना आदान प्रदान समेत गर्नेछन् । 
 
 
चिनियाँ मन्त्रीको भ्रमणका क्रममा आन्तरिक सुरक्षा र दुई देशबीचको सहयोगका बारेमा कुराकानी हुने जनाइएको छ ।  सहमतिका लागि तयार पारिएको कागजातमा गुप्तचर गतिविधिको बारेमा सूचना आदानप्रदान, चलनमा रहेका  राम्रा पक्षहरुको सूचना साझेदारी, विपत्तिलाई सम्बोधनका लागि सहयोग लगायतका कुरा रहेका छन् ।
 
 
दुई देशबीच दोक्लाम क्षेत्रमा तनाव भएको करिब १ वर्षको अवधीमा यस्तो समझदारी हुन लागेको भारतीय गृह मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिन्पीङ्गबीच गएको अप्रिल महिनामा चीनको उहानमा भएको भेटघाटका क्रममा दुई पक्षीय सम्बन्धलाई सुधार्ने बारेमा कुराकानी भएको थियो । 
 
 
चिनियाँ टोलीले गएको अगष्ट २८ तारेखमा आपसमा छलफल गरी दुई देशबीच हुने मन्त्रिस्तरीय बैठकमा हुने एजेण्डाका बारेमा छलफल गरेको थियो । यो दुई देशबीच हुन लागेको पहिलो यसप्रकारको सहमति भएको भारतीय अधिकारीहरुले जनाएका छन् ।  
 
 
चिनियाँ मन्त्रीको भ्रमणको क्रममा दुई देशका अधिकारीहरुबीच जेलमा रहेका थुनुवाहरुको सटहीका बारेमा पनि कुरा हुनेछ । अहिले भारतसँग चीनको सुपुर्दगी सन्धी छैन ।  हाल करिब १० जना भारतीयहरु चिनियाँ जेलमा रहेको र त्यति नै चिनियाहरु पनि भारतीय जेलमा रहेको बताइँदै आएको छ । 
 
 
लेफिटनेन्ट जनरल प्रकाश कटोचले इण्डियन डिफेन्स रिभ्यूमा यही अक्टोबर ३ का दिन यसबारेमा लामो आलेख लेखेका छन् । उनले त्यसमा भारतले यसअघि सामाजिक सुरक्षा समझदारी १८ देशसँग गरेको भएपनि यसखाले आन्तरिक सुरक्षा समझदारी नगरेको जनाएका छन् । 
 
 
भारत र चीनबीच समझदारीमा हस्ताक्षर हुनुअघि राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग चिनियाँ मन्त्रीले कुराकानी गर्ने समय तोकिएको छ । 
 
 
भेटघाटमा  उल्फासँग सम्बन्धित गतिविधि, इश्लामिक स्टेट, अरुणाञ्चल प्रदेशका भारतीयहरुका लागि भिसाको विषयमा पनि कुरा हुने जनाइएको छ । चीनको सिन्जियाङ् प्रान्तका  उयगुर सम्बन्धी युवाहरुले इराक र सिरिया यात्रा गर्ने गरेको र दक्षिण भारतमा पनि उनीहरुका गतिविधि ‘नोटिस’ गरिएको भन्ने विषयमा दुवै देश चिन्तित पाइएका छन् । 
 
 
समझदारीमा सीमापार अपराध, साइबर अपराध लगायतका विषयमा पनि सूचना आदान प्रदान गरिने कुरा समेटिनेछ । त्यस्तै आतंकवाद तथा लागू औषध नियन्त्रणका विषयमा पनि दुई देशबीचको समझदारीमा उल्लेख गरिनेछ ।  
 
 
भारतमा कतिपयले भने अहिलेको संस्थापन पक्षले आगामी संसदीय निर्वाचनलाई ध्यान दिंदै यो समझदारी गर्न लागेको भन्दै कतिपयले आलोचना पनि गरेका छन् । उनीहरुको तर्क रहेको छ– छिमेकी चीनसँगको सम्बन्ध सुध्रिएको देखाएर मत बढाउन खोजिएको हो । एजेंसी