आज नेकपाले माधव नेपालले राखेको असंतुष्टिका विषयमा छलफल गर्ने

कार्तिक ०५,२०७५

-

५ कार्तिक २०७५ काठमाण्डौ l 
 
 
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले माधव नेपालले राखेको असतुष्टिका विषयमा छलफल गर्ने भएको छ । भदौ २८ गते बसेको पार्टी सचिवालय बैठकले एकीकरणसम्बन्धी नयाँ मापदण्ड तयार पार्न पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको थियो । तर, असोजको पहिलो साता बसेको सचिवालयले प्रदेशको अध्यक्ष, सचिव, इन्चार्ज र सहइन्चार्ज नै तोकेपछि ने क पाका तेस्रो वरियताका नेता नेपाल रूष्ट बन्न पुगेका छन् ।  उनले निर्णयप्रति असहमति जनाउँदै लिखित असन्तुष्टि बैठकमा राखेपछि पार्टी सचिवालय आज दिउँसो १ बजे बालुवाटारमा बस्ने बैठकमा यसै विषयमा छलफल हुन लागेको हो । 
 
 
 
यसलाई ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेतृत्व एकताको छलफल भनेका छन् । बैठकमा सांगठनिक एकताका विषयमा पनि छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।  सचिवालय निर्णय गर्ने थलो नभएको र अध्यक्षद्वयलाई मापदण्डसम्बन्धी प्रस्ताव तयार पार्नेमात्रै जिम्मेवारी दिएको भन्दै नेता नेपालले असन्तुष्टि दर्ता गरेका छन् । 
 
 
विशेषतः नेता नेपाल पक्षको विरोध गण्डकी र पाँच नम्बर प्रदेशको इन्चार्ज चयनप्रति छ । मुख्यमन्त्री रहेका पृथ्वीसुब्बा गुरूङ र शंकर पोखरेललाई गण्डकी र ५ नम्बर प्रदेशको इन्चार्ज तोकेर दोहोरो जिम्मेवारी दिएको र यसअघि पार्टीले तय गरेको मापदण्ड लत्याइएको भन्दै नेता नेपालले विरोध जनाएका छन् । 
 
 
यसअघि आइतबार बसेको ने क पाको सचिवालय बैठकले प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिन नपर्ने निर्णय गरेको थियो । 
 
 
काठमाडौं निर्वाचन क्षेत्र नं ७ बाट निर्वाचित सांसद मानन्धरले पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा ल्याउन आवश्यकपरेमा आफू राजीनामा दिन तयार रहेको भन्दै त्यसका लागि अनुमतिका लागि नेतृत्वलाई पत्र लेखेका थिए । बैठकले उक्त पत्रउपर अहिले कुनै निर्णय गर्नु नपर्ने निर्णय गरेको थियो । पार्टीसहित चौतर्फी आलोचना भएपछि नेकपा उक्त निर्णयबाट पछि हटेको हो । बार्हखरी