पुराना २५ गाडी थन्काएर नयाँ २३ गाडी किन्न बजेट माग

मंसिर ०४,२०७५

-

 
 मंसिर ४ , २०७५ काठमाडौँ। 
 
संघीय संसद् सचिवालयले मर्मत गरेर सञ्चालन गर्न सकिने २५ वटा गाडी थन्काएर नयाँ २३ वटा गाडी खरिद गर्न लागेको छ । संसद् सचिवालयले अर्थ मन्त्रालयलाई पत्र पठाई दुईवटा एक करोड रुपैयाँभन्दा बढीका र बाँकी २१ वटा स्कारर्पियो जिप खरिदका लागि बजेट मागेको छ । माग गरिएका सबै गाडी किन्दा राज्य कोषमा १८ करोड रुपैयाँ व्ययभार थपिनेछ।
 
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङफेका लागि एक करोड रुपैयाँमाथिका दुईवटा गाडी खरिद गर्न लागिएको हो । स्कारर्पियो जिप संसदीय समितिका सभापति र अन्य पदाधिकारीका लागि खरिद गर्न लागिएको संसद् सचिवालयले जनाएको छ।
 
संसद् सचिवालयले अर्थ मन्त्रालयलाई पत्र पठाई दुईवटा एक करोड रुपैयाँभन्दा बढीका र २१ वटा स्कारर्पियो जिप खरिदका लागि बजेट मागेको छ । माग गरिएका सबै गाडी किन्दा राज्य कोषमा १८ करोड रुपैयाँ व्ययभार थपिनेछ
२३ वटा गाडी, ३० वटा मोटरसाइकल र ४३ थान कम्प्युटरका लागि अर्थसँग २२ करोड रुपैयाँ बजेट माग गरेको सचिवालयले जनाएको छ । अर्थले भने अहिलेसम्म जबाफ पठाएको छैन । संसद् सचिवालयले एक महिनाअघि नै अर्थलाई पत्र पठाए पनि अहिलेसम्म कुनै जानकारी नआएको सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले बताए । पाण्डेले भने, ‘२३ गाडी, ३० मोटरसाइकल र ४३ कम्प्युटर खरिदका लागि अर्थसँग बजेट माग गरिएको छ । कतिपय गाडी पुराना र मर्मत गरिरहनुपर्ने अवस्थामा पुगेका छन् । ती गाडी समिति सभापतिलाई दिन सुरक्षाका हिसाबले पनि त्यति उचित हुँदैन।’
 
संघीय संसद् सचिवालयमा सानाठूला गरी ६४ वटा गाडी पूर्ण रूपमा चालु अवस्थामा छन् । संसद्मा अहिले कुल ६७ वटा गाडी प्रयोगमा छन् । तीनवटा गाडी पुराना भए पनि मर्मत गरी चलाइएको छ।
 
गत वर्ष संसद्मा कुल एक सय ९ सवारीसाधन चालु अवस्थामा थिए । जसमा १७ सवारीसाधन गत वर्ष लिलाम गरिएको थियो । बाँकी ९२ वटा गाडी चालु रहँदा २० वटा गाडी चल्दैनचल्ने अवस्थामा रहेको भन्दै थन्काइएको थियो । पछिल्लोपटक आठवटा गाडी पनि मर्मत खर्च बढी हुने भन्दै थक्काइएकोमा तीनवटा गाडी मर्मत गरी चलाइएको हो । बाँकी पाँचवटा गाडी भने चलाउँदैनचलाई थन्काइएको छ । अहिलेसम्म जम्मा २५ वटा गाडी थन्काइएको छ । संसद् सचिवालय स्रोतले भन्यो, ‘नेताहरूले चढ्न नमानेपछि केही सवारी सद्दे भए पनि थन्काइएको हो।’
 
संसद् सचिवालयलाई सवारीसधान अपुग भएको भन्दै गत वर्ष १२ वटा स्कारर्पियो र ६ वटा टाटा कार खरिद गरिएको थियो । सवारीसाधन अपुग भएको भन्दै यस वर्ष पनि २३ वटा सवारीसाधन खरिद गर्न लागिएको छ । पुराना सवारीसाधन भएकाले नयाँ गाडी चाहियो भन्दै समितिका सभापतिले गुनासो गरिरहेको संसद् सचिवालयले जनाएको छ।
 
संसद्मा रहेका ३० स्कारर्पियो जिप २०६५ सालमा युएनडिपीको अनुदानमा प्राप्त भएका हुन् । संसद्मा रहेका १७ समिति सभापतिले यिनै पुराना स्कारर्पियो जिप प्रयोग गरेका छन् । संसद् सचिवालयले गत वर्ष खरिद गरेको १२ वटा स्कारर्पियो जिप पदाधिकारी, दलका नेता, प्रमुख सचेतक र सचेतकलाई मात्र पुगेपछि सभापतिलाई पुराना गाडी दिइएको सचिवालयले जनाएको छ । तर अर्थ मन्त्रालयले भने अहिले बजेटको व्यवस्थापन गर्नुपर्ने भएका कारण गाडी खरिदमा कडाइ गरेको जनाएको छ । अर्थ मन्त्रालयले स्रोतले भन्यो, ‘संसद्लाई पाँचवटा गाडी मात्र उपलब्ध गराउन अर्थ मन्त्रालय तयार छ । तर त्योभन्दा बढी गाडी खरिद गर्न अर्थसँग बजेट पुग्दैन।’
 
सचिवालयले गत वर्ष खरिद गरेको ६ वटा टाटा कार सचिवालयका वरिष्ठ कर्मचारीले चढ्दै आएका छन् । संसद्मा प्रयोग भएका साधनमा सचिव र महासचिवलाई ६ वटा, सभापतिलाई १७ वटा, दलका नेतालाई ८ वटा, पूर्वसभामुखलाई २ वटा र संविधानसभा अध्यक्षलाई एउटा, राष्ट्रियसभा र प्रतिनिधिसभाका सचेतकलाई ९ वटा, सहसचिवलाई १२ वटा र आवश्यकताअनुसार प्रयोग गर्नका लागि राखिएका गाडी १० वटा, मर्यादापालकका लागि ३ वटा गरी ६७ वटा गाडी प्रयोगमा छन् । प्रतिनिधिसभाका १०, राष्ट्रियसभाका ४ र संयुक्त सदनका ३ गरी १७ समिति छन्।
 
संसद् सचिवालयलय व्यवस्थापन समिति बैठकले निर्णय गरी एक महिनाअघि थप २३ गाडी, ३० मोटरसाइकल र ४३ कम्प्युटर आवश्यक पर्ने निर्णय गरेपछि संसद् सचिवालयले अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको हो।