ठेकेदार प्रमुख सहितलाई भ्रष्टाचार मुद्दा परेपछि सिक्टाको काम अन्योल

मंसिर २४,२०७५

-

मंसिर २४,२०७५ काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा साढे आठ अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको अभियोग लगाउँदै भ्रष्टाचार मुद्दा दर्ता गरेपछि भइरहेको काम के हुने भन्नेमा अन्योल देखिएको छ ।
 
सिँचाइ विभागले सञ्चालन गरिरहेका विभिन्न आयोजनामध्ये सिक्दामा हालसम्मकै धेरै भ्रष्टाचार भएको ठहर गर्दै आयोगले मुद्दा दर्ता गरेपछि यस्तो अन्योल देखिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका एक अधिकारीले बताए ।
 
मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीले ठूलो संख्याका कर्मचारी र निर्माण व्यवसायीविरुद्ध आयोगले मुद्दा दायर गरेपछि केही कर्मचारी अन्योलमा परेको बताए ।
 
‘मुद्दा दर्तापछि देखिएको अन्योल प्रधानमन्त्री, मन्त्री तथा आयोगबीच नै छलफल भएर अन्त्य गर्नुपर्छ,’ तिवारीले भने । 
 
आयोगले मुद्दा दर्ता गरेपछि मन्त्रालयले सिक्टा आयोजनाबारे छलफल गरेको छैन । सिँचाइ मन्त्री वर्षमान पुनको व्यस्तताका कारण छलफल हुन नसकेको बताइएको छ ।
 
योगले सिक्टामा आठ अर्ब ५९ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै शुक्रबार ठेकेदार कम्पनी सिटिसिई कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
 
जसमा सिक्टा आयोजनाका पूर्वप्रमुख तथा हालका सिँचाइ विभागका महानिर्देशक सरोजचन्द्र पण्डितसहित आयोजनाका चारजना पूर्वप्रमुख छन् । मुद्दा दर्तासँगै पण्डित निलम्बनमा परेपछि विभाग महानिर्देशकविहीन भएको छ । नागरिक