विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीलाई धक्का

मंसिर २५,२०७५

-

२५ मंसिर २०७५ एजेंसी l 
 
 
नयाँ दिल्ली। भारतमा मंगलबार भएको ५ वटा विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)लाई धक्का लागेको  छ। निर्वाचनको मुख्य कमाण्डरका रुपमा खटिएका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि यसले अप्ठेरो अवस्था पार्ने देखिएको छ। 
 
 
बीजेपीको सरकार रहेको राजस्थानमा कांग्रेस ९२, बीजेपी ७९ र बहुजन समाज पार्टी (बीएसपी) तीन सीटमा अगाडि देखिएका छन्। अन्य ६ सीटमा निर्दलीय उम्मेदवार अगाडि पाइएका छन्। बीजेपीकै सरकार रहेको मध्य प्रदेशमा कांग्रेस ११६ र बीजेपी १०० सीटमा अगाडि छन् भने  बीएसपी ७ र निर्दलीय १ सीटमा अगाडि पाइएका छन्। तेलगांनामा क्षेत्रीय दल तेलंगना राष्ट्र समिति (टीआरएस) ७९,  कांग्रेस २९ र बीजेपी दुई सीटमा अगाडि रहेका छन्।  छत्तीसगढमा कांग्रेस ५६ र  बीजेपी २७ सीटमा अगाडि रहेका छन्। 
 
 
भारतको मध्यप्रदेश र मिजोरममा नोभेम्बर २८, छत्तीसगढमा नोभेम्बर १२ र २० अनि राजस्थान र तेलंगानामा डिसेम्बर ७ मा चुनाव भएकोमा सबै स्थानको  परिणाम आज  घोषणा हुँदैछ। आजको मत परिणामले भारतमा को कति पानीमा छ भनेर नापजाँच मात्रै गर्ने छैन कि सन् २०१९को मे महिनामा हुने लोकसभा निर्वाचनको जोड–घटाउ तर्फ पनि यसले ठूलै संकेत गर्नेछ।
 
 
अहिले चुनाव भएको पाँच प्रदेश मध्ये मध्यप्रदेश, छत्तीसगढ र राजस्थानमा लामो समयदेखि भाजपा नेतृत्वको सरकार छ भने तेलंगानामा तेलंगाना राष्ट्र समिति (टीआरएस) र मिजोरममा कांग्रेस नेतृत्वको सरकार रहेको छ। यसअघि कांग्रेसको सरकार रहेको मिजोरममा अहिले ऊ दोस्रो स्थानमा पुगेको छ। पहिलो स्थानमा क्षेत्रीय दल अगाडि देखिएको छ। 
 
 
मूलभूत रुपमा भारतका जनताले केन्द्र र प्रदेशमा सत्ता चलाइरहेको दल भन्दा पनि विपक्षीलाई रुचाएको जस्तो संकेत प्रारम्भिक निर्वाचन परिणामले देखाएको छ।