अहिले भाजपालाई पराजित गर्यौं,२०१९ मा पनि गर्नेछौं: राहुल गान्धी

मंसिर २६,२०७५

-

२६ मंसिर २०७५ काठमाण्डौ l 
 
 
एजेन्सी। पाँच मध्ये तीन राज्यमा जितपछि काँग्रेस आईका अध्यक्ष राहुल गान्धीले भाजपालाई राज्यमा हराएको भन्दै आगामी आम निर्वाचनमा पनि पराजित गर्ने बताएका छन्।
 
 
विभिन्न मितिमा मध्य प्रदेश, राजस्थान, छत्तीसगढ र मिजरोममा भएको मतदानको मंगलबार मतगणना गरिएको छ। मंगलबार प्राप्त चुनावी नतिजामा काँग्रेसले ठूला तीन राज्य, राजस्थामा बहुमत, मध्य प्रदेशमा सबैभन्दा ठूलो दल र छत्तीसगढमा अत्याधिक बहुमत पाएको छ। यी तीनै राज्यमा भाजपाको सरकार थियो।
 
 
उता काँग्रेसको सरकार रहेको मिजरोममा भने काँग्रेस पराजित भएको छ। यद्यपी यो राज्यमा जम्मा ४० सिटमात्र थिए। 
 
यस्तै तेलंगनामा सत्तारुढ दल तेलंगना राष्ट्रिय समिति (टीआरसी) ले दुई तिहाई बहुमत ल्याएको छ। यो राज्यमा काँग्रेसले १९ सिट र भाजपाले एक सिटमात्र जितेका छन् भने टीआरसीले ८९ सिट जितेको छ। 
 
 
पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष राहुलले मोदीले किसानलाई, युवालाई रोजगार दिन नसकेकाले भोट नदिएको बताए। उनले आफूले २०१४ को चुनावबाट धेरै कुरा सिकेको भन्दै प्रधानमन्त्री मोदीले मौका गुमाएको बताए। उनले जीएसटी, नोटबन्दी र बरोजगारीका कारण भाजपालाई जनताले भोट नदिएको बताए। उनले भाजपाको नीतिलाई जनताले अस्वीकार गरेको बताए। 
 
 
अध्यक्ष गान्धीले मुख्यमन्त्री चयनका विषयमा बोल्दै यो कुनै समस्या नभएको भन्दै आरामसँग मुख्यमन्त्री चयन हुने बताए। काँग्रेसले राजस्थानका  राज्यपालसँग बुधबार बेलुका ७ बजेको समय मागेको छ। उसले सो भेटमा सरकार बनाउने दावी पेस गर्ने बताइएको छ।
 
 
यस्तै मध्य प्रदेशमा पनि राज्यपालसँग काँग्रेसले सरकार बनाउने दावी गर्दै समय मागेको छ। तर, राज्यपालले भने निर्वाचन आयोगबाट अन्तिम नतिजा नआउँदासम्म भेट नदिने बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।