हिमपातका कारण दुई हप्तामा १८ को मृत्यु

माघ ०४,२०७५

-

भियना, ३ माघ ।
 
अत्यधिक हिमपातका कारण अष्ट्रियामा दुई हप्तामा १८ जनाको मृत्यु भएको छ । 
 
अहिलेसम्म सबैभन्दा पछाडि मृत्यु हुनेमा ५४ र ५८ वर्षका दुई जना पुरुष रहेका छन् । 
 
लिलिन्फेल्ड जिल्लामा केहीदिनदेखि हिउँमा बेपत्ता भएका मध्ये दुई जनाको शव भेटिएको हो । उनीहरु यही जनवरी ५ देखि बेपत्ता भएका थिए । 
 
त्यसैगरी अर्का एक जना गत शनिबारदेखि बेपत्ता भएका थिए । उनको शव बुधबार भेटिएको थियो । 
 
समाचारमा जनाइए अनुसार लिच भन्ने ठाँउमा २८ वर्षीय एक जर्मन नागरिकको शनिबार मृत्यु भएको थियो । 
 
त्यसैगरी अरु तीन जना जर्मन नागरिक पनि आईतबार मृत अवस्थामा भेटिएको अधिकारीहरुले बताएका छन् । 
 
खराब मौसमी अवस्थाका कारण हिमपात भइरहेकाले बेपत्ता भएकाहरुको खोजी तथा उद्धारमा कठिनाई भएको उद्धारकर्मीहरुको भनाई छ । रासस