वैवाहिक भोजमा भएको विष्पोटमा परी मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

फाल्गुण ०७,२०७४

-


राति वैवाहिक भोज चलिरहेका समयमा ग्यास सिलिण्डर विष्पोट हुँदा भोजस्थान भइरहेको भवन भत्किनुका साथै ठूलो आगलागी भएको थियो । भारतीय सेनाको सहयोगमा जारी उद्धारका क्रममा महिला तथा बालबालिकासहित थप नौ जनाको मृत शरीर भग्नावशेषभित्रबाट निकालिएको छ । “अहिले (आइतबार अपरान्ह्) सम्म घटनास्थलबाट १८ शव निकालिएको छ,” अजमरका वरिष्ठ प्रशासकीय अधिकारी गौरव गोयलले भन्नुभयो । 

घटनास्थलबाट पाँच जनालाई आगोले पोलेर गम्भीर घाइते भएको अवस्थामा उद्धार गरिएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको गोयलले एएफ्पीलाई बताउनुभयो । घटनास्थल राजस्थान राज्यको राजधानी जयपुरबाट २०० किलोमिटर टाढा पर्छ । विस्पोटका कारण तीनतले भवन पूर्णतया क्षतिग्रस्त भएको छ । 

राजस्थानका मुख्यमन्त्री बसुन्धरा राजेले विस्पोटमा घाइते भई अस्पतालमा उपचाररत सवै विरामीलाई शनिबार साँझ नै भेट्नुभएको थियो । उहाँले मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख बराबरको क्षतिपूर्तिको घोषणा गर्नुभएको छ । 

भारतमा खाना पकाउने ग्यास प्रयोगमा आवश्यक सुरक्षा नअपनाइदा पटक पटक यस्ता विष्पोटका घटना हुनेगरेका छन् । यद्यपि विस्पोटका कारण ठूलो सङ्ख्यामा नागरिकले ज्यान गुमाएका घटना भने कम सुनिने गरेको छ ।