सरकारले भोलि नै पूर्णता पाउँछ : प्रदिप ज्ञवाली

वर्तमान राष्ट्रपति र उपराष्ट्रपति दुवैजना दोहोरिने :

फाल्गुण ०८,२०७४

-

फागुन ८,२०७४ काठमाडौं ।
नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले भोलि नै मन्त्रिमण्डलले पूर्णता पाउने स्पष्ट पारेका छन् । 
 
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले भने,‘भोलि नै हामी सरकार विस्तार गर्छों, मन्त्रिमण्डिलले पूर्णता पाउँछ, हामी १५ सदस्यीय मन्त्रिमण्डल बनाउँछौं, हाम्रो कार्यदलले पनि यही सिफारिश गरिसकेको छ, अब कतिपय मन्त्रालयहरु मर्ज गरिन्छ, कतिपय खारेज हुन्छन् ।’
 
उनले अबको सरकार मिशन ओरियन्टेड हुने विश्वास पनि दिलाए । उनले सुशासन र आर्थिक समृद्धि हाँसिल गर्नको लागि सरकारले दत्तचित्त भएर काम गर्ने पनि विश्वास दिलाए । 
 
सरकारको मुख्य उद्देश्य नै राजनीतिक स्थायित्व कायम गर्ने र तिव्र आर्थिक वृद्धि हाँसिल गर्ने रहेकोले त्यसको लागि समावेशीतासहितको योग्यतम टिम पठाउने उनको भनाई थियो ।
ज्ञवालीले वर्तमान सरकारको मुख्य प्राथमिकता पाँच वटा रहेको पनि सुनाए । 
 
उनका अनुसार पहिलो लक्ष्य लोकतन्त्रको सुदृढिकरण, दोस्रो राष्ट्रिय हितको रक्षा, तेस्रो, सुशासन कायम गर्ने र भ्रष्टाचारको नियन्त्रण गर्ने, चौथोमा समृद्धि हाँसि गर्ने (सर्वोच्च प्राथमिकता तिव्र आर्थिक वृद्धि) गर्ने र यसको लागि राज्यको लगानी बढाउने । त्यस्तै, पाँचौ प्राथमिकतामा संघीयता लगायत संविधानमा भएका महत्वपूर्ण कुराहरुको सफल कार्यान्वयन गर्ने रहेको छ । उनले नीजी क्षेत्रले जति कमाएपनि हुने तर उक्त कमाई फेयर हुनुपर्ने र राज्यलाई कर तिर्नुपर्ने पनि बताए । 
 
सचिव ज्ञवालीले एमाले र माओवादी केन्द्रवीचको एकता घोषणा ऐतिहाँसिक भएकोले यसले मुलुकमा राजनीतिक स्थायित्व दिने विश्वास दिलाए । 
 
एकता प्रक्रियालाई निश्कर्षमा पुर्याउनको लागि तीन हप्ता समय लाग्नेपनि उनले बताए । 
 
हिजो भएको दुई पार्टीवीचको एकता घोषणालाई दुवै पार्टीका  केन्द्रिय कमिटीले अनुमोदन गर्ने र आगामी फागुनको अन्तिम वा चैत्रको पहिलो साता विशाल कार्यक्रम आयोजना गरि एकता घोषणा गर्ने पनि उनको भनाई थियो । 
ज्ञवालीले एकता महाविधेशनको लागि करिब डेढ वर्ष समय लाग्ने पनि सुनाए । 
 
उनले दुवै पार्टी एक भएकोले अब प्रधानमन्त्रीमा आलोपालो भन्ने कुरा नरहने पनि जिकिर गरे । उनले वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई नै निरन्तरता दिनेबारे छलफल चलेको स्विकार्दै उहाँहरु दोहोरिने संभावना रहेको सुनाए ।
सचिव ज्ञवालीले वर्तमान सरकारको परराष्ट्र नीति सन्तुलित र परिपक्व हुने पनि बताए । अब सरकार विकासमा केन्द्रीत हुने उनको भनाई छ ।