आज रातो मच्छेन्द्रनाथको भोटो देखाइने जात्रा ः उपत्यकामा सार्वजनिक बिदा

बैशाख ३०,२०७५

-

वैशाख ३०,२०७५ काठमाडौं ।
 
 
वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आइतबार देखाइने भएको छ । भोटो देखाउने जात्राको अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
 
भोटो जात्रालाई करिब ८०० वर्ष अघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो ।
 
जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य कीर्तिमदन जोशीले जानकारी दिए ।
 
भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटो जात्रा सुरू भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै सुरू भएको हो । किम्बदन्तीअनुसार यो यात्रा सुरू भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।
 
डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरूप मणिमाणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्य लोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।
 
मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले भोटो खोजे तर पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कार स्वरूप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे ।
 
भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो ।
 
आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जन विश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किम्बदन्ती छ ।
 
पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी जानेछिन् । रासस