नेपालबाट ट्रकोमा रोग निर्मूल

जेठ ०७,२०७५

-

जेठ ७, २०७५ काठमाडौं ।
 
नेपालबाट आँखामा लाग्ने खसरोग (ट्रकोमा) रोग निर्मुल भएको छ ।
 
नेपालले खसरोग निर्मूलनमा सफलता हासिल गरेपछि विश्व स्वास्थ्य संगठनबाट निर्मूलनको प्रमाणपत्र पाएको छ । 
 
स्विटजरल्याण्डको जेनेभास्थित प्रधान कार्यालयमा चलिरहेको ७१औँ महासभामा यही जेठ ६ गते स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई रोग निर्मूलनको प्रमाणपत्र प्रदान गरिएको हो । 
 
राज्यमन्त्रीका स्वकीय सचिव राजेश शर्माले राससलाई दिएको जानकारीअनुसार विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानम देभ्रेयुसले राज्यमन्त्री अर्याललाई उक्त प्रमाणपत्र प्रदान गरेका हुन् । 
 
महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा पुग्नुभएकी राज्यमन्त्री पद्मा अर्याल र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस अधानम देभ्रेयुस विगतमा नेपालमा भएका स्वास्थ्यसँग सम्बन्धित सफल अभ्यास, उपलब्धि र योजनाहरुका विषयमा छलफलसमेत भएको शर्माले बताए ।  
 
नेपाल संघीयता कार्यान्वयनको विशिष्टीकृत अवस्थामा रहेको हुँदा संगठनले स्वास्थ्यको नीति र पद्धति विकासमा विशेष प्राविधिक सहयोग गर्न, नेपाली विज्ञको अर्थपूर्ण सहभागितामा संगठनका नीति, योजना र कार्यक्रमहरु निर्माणका लागि पनि राज्यमन्त्री अर्यालले आग्रह गर्नुभएको बताइएको छ । 
 
भेटमा महानिर्देशक डा.टेड्रोस अधानम देभ्रेयुसले नेपालले ट्रकोमा उन्मूलनमा प्रगति गरेको जस्तै कालाज्वरमा पनि प्रगति गरिरहेको कुरा सुन्दा आफूलाई खुशी लागेको बताउनुभएको शर्माले जानकारी दिए । रासस