नीति तथा कार्यक्तम कविताजस्तो भयो : मिनेन्द्र रिजाल

जेठ ०९,२०७५

-

 
जेठ ९, २०७५ काठमाडौं ।
 
नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकारको नीति तथा कार्यक्रमलाई  कविताजस्तो भएको टिप्पणी गरेका छन् ।
 
नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै रिजालले उक्त नीति तथा कार्यक्रम प्राथमिकताविहीन कविताजस्तो भएको बताएका हुन् ।  
 
रिजालले संसदमा नीति तथा कार्यक्रमको आलोचना गर्दै भने, ‘यो न नीति हो न कार्यक्रम । कविता, कसैले यसैगरी लेखिदए पनि 
हुन्थ्यो ।’
 
सरकारले गत ७ गते संसदमा नीति तथा कार्यक्रम पेश गरेको थियो । उनले नीति तथा कार्यक्रममा परेको ‘एकजना नेपाली भोकै रह्यो भने सबैले खाए भन्न सकिन्न’ जस्ता वाक्याशंलाई काव्यात्मकको रूपमा अर्थ्याए । उनले नीति तथा कार्यक्रममा कयौं त्रुटी रहेको बताए ।
 
‘पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर गर्नुपर्छ । यो संकल्प गर्ने अवसर पनि आएको छ । त्यसका लागि १४ देखि १५ प्रतिशतको वृद्धिदर गर्न सकौंला । जनसंख्या वृद्धिदर नियन्त्रणमा छ । मुद्रास्फीति नियन्त्रणमा छ’, रिजालले भने, ‘प्रतिव्यक्ति आय दोब्बर गर्न पनि सकिन्छ । तर यो नीतिले, प्राथमिकताविहीन दस्तावेजले कहीँ र्पुयाउँदैन । प्राथमिकताविहिन दस्तावेजले दोब्बर त के डेढी पनि भएन भन्नुपर्ने हुन्छ ।’
 
उनले कृषिमा उत्पादकत्व बढाउने भनिएको अनि सँगसँगै कृषिमा आश्रित जनसंख्यालाई गैर कृषि क्षेत्रमा लैजाने भनिएको तर सिंचाइको सुविधा विस्तार गर्ने मात्र भनिएकोमा आश्चर्य प्रकट गरे । प्रति घण्टा विद्युत खपत १५ सय किलोवाट गर्ने भनिएको छ । त्यसका लागि प्रत्येक वर्ष २९ प्रतिशत दरको विद्युतको खपत गर्नुपर्छ । यति भए वार्षिक १४ देखि १५ प्रतिशतले आर्थिक वृद्धिदर हुन्छ’, रिजालले प्रश्न गरे, ‘यो खपत सम्भव छ ?’
 
उनले नीति तथा कार्यक्रममा यो वर्ष सकिँदा के हुन्छ भन्ने उल्लेख नरहेको 
बताए ।
 
‘उडन्ते कुरा गर्ने हो भने त ठाउँ, कुठाउँमा बोल्ने चलन छँदैछ’, रिजालले भने, ‘त्यसैगरी बोलेको भए पुगिहाल्थ्यो त । संसदमा प्राथमिकता विहीन दस्तावेजलाई नीति र कार्यक्रम भन्नु पर्दैन थियो ।’
 
उनले अझै पनि विद्यालय जान हिँड्नुपर्ने र चार घण्टा स्वास्थ्य संस्थामा जान लाग्ने अवस्थामा रेलको कुरा गरिएको प्रति समेत व्यंग्य गरे । 
उनले चुरे र भित्री मधेस जोड्ने मदन भण्डारी राजमार्गका कारण हुलाकी राजमार्ग प्राथमिकता बाहिर गएको सन्देश गएको टिप्पणी गरे ।
 
‘हुलाकी राजमार्ग नगरेर भित्री मधेसको राजमार्ग बनाउने भनेको हो भने त्यसको अर्थ के हुन्छ?’, उनले भने, ‘हिजो निर्वाचनका बेला एउटा खालको जातको, एउटा खालको पहिचानको, एउटा खाला मातृभाषाको राष्ट्रियतामाथि प्रश्न उठाउनेहरू त्यताबाट बन्ने सडक फेरि पनि बन्न दिँदैनौं । अब प्राथमिकताभन्दा बाहिर जान थाल्यो भन्ने सन्देश दिन्छ ।’
 
उनले मदन भण्डारी जस्ता नेतालाई हुलाकी राजमार्गसँग प्रतिष्पर्धा गराउनु अनुचित भएको बताए । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सम्बोधनमा उनले सम्मानार्थी शब्द नभएकोमा उनले आपत्ति जनाए ।
‘यसअघि सभामुखलाई महोदय, सम्माननीय सभामुख महोदय भनेर सबै राष्ट्रपतिले सम्बोधन गर्नुभयो । किनभने ती बेलाका सरकारहरूले त्यसै किसिमको सम्बोधनको नीति र कार्यक्रमको दस्तावेज पेश गरे’, रिजालले भने, ‘अहिले रहनुभएको राष्ट्रपतिले अघिल्लो कार्यकाल सम्माननीय सभामुख महोदय भनेर सम्बोधन भएको छ । म यो विषयमा धेरै तिक्तता पोख्न चाहन्न । तर धेरै लामो संघर्षबाट प्राप्त उपलब्धि हो । साना दुःखले हामी यहाँ पुगेका छैनौं । संविधानमा त्यही मान्यता अंकित गरेको । त्यो मान्यताभन्दा बाहिर जाने कसैलाई अधिकार छैन ।’