तस्करलाई संरक्षण गर्ने प्रहरीलाई अन द स्पट कारबाही गर्छु : गृहमन्त्री

जेठ १०,२०७५

-

जेठ १०, २०७५ धनगढी ।
 
 
गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले तस्करहरुलाई संरक्षण गर्न प्रहरीको नाम दिए उनीहरुलाई ‘अन द स्पट’ कारबाही गर्ने बताएका छन् ।
 
उनले भने, ‘तस्करहरु को हुन्, उनीहरुलाई प्रहरीले संरक्षण गरेको छ भने नाम दिनुस् । अन द स्पट कारबाही गर्छौं ।’
 
भरियाहरु पक्राउ पर्ने तर, मालिकहरु नभेटिने ‘हिजोको कथा’ भएको भन्दै उनले अब त्यो सम्भव नभएको बताए । गृहमन्त्री बादलले भने, अब मालिकहरुलाई नै कानुनको कटघराउमा उभ्याइन्छ । यसको सुरुवात भइसकेको छ ।’
अपराधलाई निस्तेज नगरेसम्म विकास नहुने भएकाले शुद्धीद्धकरण अभियान चलाएका उनले बताए । ‘देशबाट भ्रष्टाचारलाई हटाउनुपर्छ । हरेक क्षेत्रमा भ्रष्टाचार छ, सिन्डिकेट छ’ उनले भने, ‘जबसम्म एकाधिकार तोड्न सकिन्नँ, तबसम्म देशको विकास सम्भव छैन । त्यसैले सरकारले सिन्डिकेट तोड्ने अभियान थालेको छ ।’