राष्ट्रियसभामा पनि नीति तथा कार्यक्रममाथि छलफल सुरु

जेठ १०,२०७५

-

जेठ १०, २०७५ काठमाडौं ।
 
बिहिबारदेखि राष्ट्रियसभामा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । 
 
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव राखेपछि सो सम्बन्धमा छलफल सुरु गरिएको हो । 
 
राष्ट्रपति विद्या भण्डारीले गत जेठ ७ गते संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम पेश गरेकी थिइन् । सोही नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा पनि विहिबारबाट छलफल सुरु भएको हो ।
छलफलमा भाग लिँदै सत्तारुढ नेकपा कम्युनिष्ट पार्टीका सांसदहरुले सरकारको नीति तथा कार्यक्रममको बचाउ गरेका छन् भने प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसदहरुले आलोचना गरेका छन् ।
 
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद दिनानाथ शर्माले सरकारको नीति तथा कार्यक्रम मुलुकलाई समृद्ध बनाउने लक्ष्म हासिल गर्ने गरी आएको भन्दै विरोध गरिरहन नपर्ने दावी गरे । 
 
उनले सरकारको नीति तथा कार्यक्रम राष्ट्रियताको पक्षमा रहेको र यसले विकास निर्माणको कामलाई पनि गति दिने विश्वास व्यक्त गरे । 
 
यता, प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसदहरुले भने सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय लक्ष्यअनुसार नआएको भन्दै आलोचना गरेका छन् । 
 
काँग्रेस सांसद सुरेन्द्र भण्डारीले सरकारले महत्वकांक्षी नीति लिएको तर त्यसलाई पूरा गर्ने कार्यक्रम नल्याएको भन्दै आलोचना गरे । 
 
यसैगरी काँग्रेस सांसद राधेश्याम अधिकारीले पनि स्थानीय तहलाई बलियो बनाउने गरी सरकारले नीति तथा कार्यक्रम नल्याएको भन्दै असन्तुष्टि व्यक्त गरे ।