निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत

जेठ १०,२०७५

-

 जेठ १०,२०७५ काठमाडौं ।
 
 निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भएको छ । वन तथा वातावरण मन्त्रालयले विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत गरेको हो । 
 
नागरिक उड्ययन प्राधिकरण प्रस्तावक रहेको उक्त वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बिहीबार बसेको मन्त्रीस्तरीय बैठकले स्वीकृत गरेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । 
 
मन्त्रालयले १५ वटा शर्तसहित प्रतिवेदन स्वीकृत गरेको हो । आयोजना कार्यान्वयन तथा सञ्चालनका क्रममा वातावरणीय सवाल तथा प्रभाव पहिचान भए प्राधिकरणले सम्बोधन गर्नुपर्ने, आयोजना निर्माण गर्दा बनाइने सडकले पार्ने प्रभावको निराकरण प्राधिकरणले गर्नुपर्ने, आयोजना निर्माणका क्रममा हुनसक्ने बन्यजन्तु चोरी सिकारी, निकासी कार्यलाई नियन्त्रित हुने ब्यवस्था गर्नुपर्ने, आयोजना निर्माण गर्दा निस्कने  फोहोरलाई व्यवस्थित तरिकाले डिस्पोज गरिनुपर्ने, प्रस्तावित आयोजनाले सिँचाइको कुलोमा असर गर्ने देखिएमा स्थानीय तथा सरोकारवाला निकायसँग समन्वय गरि वैकल्पिक कुलोको व्यवस्था प्राधिकरणले गर्नुपर्ने लगायतका सर्त राखिएका छन् । 
 
वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको बाटो खुलेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले बताएका छन् ।