वार्ता रद्द गर्ने अमेरिकी निर्णय दुःखद र विश्वको इच्छाविपरितः उत्तर कोरिया

जेठ ११,२०७५

-

११ जेठ , २०१८
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिंगापुर वार्ता रद्द गरेकोमा उत्तर कोरियाले दुःख व्यक्त गरेको छ । उत्तर कोरियाले ट्रम्पको यो निर्णय विश्व समुदायको इच्छाविपरित भएको प्रतिक्रिया दिएको छ ।
 
आगामी १२ जुनमा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच वार्ता हुने तय भएको थियो । तर, ट्रम्पले सो वार्ता बिहीबार रद्द गरेका थिए ।
 
उत्तर कोरियाली समाचार एजेन्सीका अनुसार किम जोङ्ग उनले ट्रम्पसँग वार्ता गर्न निकै प्रयास गरेका थिए तर, ट्रम्पको फैसलाले निराश बनाएको छ ।
 
उत्तर कोरियाले अमेरिकासँग सम्बन्धित मुद्दाहरुलाई ‘जहिले पनि जसरी भए पनि’ समाधान गर्न चाहेको पनि बताएको छ । यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयको बारेमा ह्वाइट हाउसका अधिकारीहरुले उत्तर कोरियाले विगतमा धेरै बाचा तोडेकाले वार्ता रद्द गर्नु परेको बताएका छन् ।
 
उत्तर कोरियाले सिंगापुरमा तय भएको वार्ताको लागि तयारी बैठक आयोजना नगरेको र परमाणुस्थल ध्वस्त पारेको दृष्य प्रत्यक्ष अवलोकन गर्न पर्यवेक्षकहरुलाई अनुमति नदिएको लगायतका आरोप पनि अमेरिकाले लगाएको छ । तर, उत्तर कोरियाले विदेशी पत्रकारहरुको एक समूहलाई साक्षी राखेर आफ्नो एक परमाणु स्थल नष्ट पारेको थियो ।
 
अमेरिकाको पहलमा उत्तर र दक्षिण कोरियाली नेताहरुबीच भएको ऐतिहासिक भेटवार्ताको क्रममा कोरियाली प्रायद्वीपलाई परमाणु अस्त्र मुक्त पार्ने, उत्तर कोरियाले आफ्नो परमाणु केन्द्र नष्ट गर्ने लगायतका सहमति भएको थियो । सोही सहमतिअनुसार परमाणु केन्द्र नष्ट गरेको उत्तर कोरियाको भनाइ छ । तर, दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरेपछि भने उत्तर कोरिया रुष्ट थियो ।