अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं नम्बरमा उक्लिए

जेठ ११,२०७५

-

११ जेठ , २०७५

गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् ।

गत वर्ष १०१ औं स्थानमा रहेका घले यो वर्ष ठूलो फड्को मार्दै ८१ औँ नम्बरमा उक्लिन सफल भएका हुन् ।

अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने बिजनेस रिभ्यु विक्लीले हिजो सार्वजनिक गरेको सन् २०१८ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले दम्पत्ति ८७ करोड ६० लाख डलर सम्पत्तिसहित ८१ औँ स्थानमा परेका हुन् । अब उनीहरु डलर अर्बपतिको नजिक पुगेका छन् ।

घले दम्पतीको पछिल्लो एक वर्षमा कुल सम्पत्तिमा झण्डै २३ करोड डलर वृद्धि भएको देखिएको छ । गत वर्ष उनीहरुको कुल सम्पत्ति ६४ करोड ७० लाख डलर थियो । एक वर्षमै उनीहरुको सम्पत्ति झण्डै ३५ प्रतिशतले बढेको छ ।

अष्ट्रेलियाको मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका संस्थापकसमेत रहेका घलेको शिक्षा तथा रियल स्टेटलगायतका उद्योगमा लगानी छ ।

सन् १९९० को दशकको सुरुतिर अध्ययनका लागि अष्ट्रेलियाका पुगेका घलेले एकाउन्टिङ तथा प्राविधिक विषय पढाइ हुने मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीको स्थापना गरे । अहिले एमआइटीमा झण्डै ३ हजार विद्यार्थी अध्ययनरत छन् । घले उक्त इन्स्टिच्युटका म्यानेजिङ डाइरेक्टर हुन् भने गुरुङले बिजनेस र मार्केटिङ विभाग सम्हाल्दै आएकी छिन् ।

घलेले झण्डै चार वर्षसम्म गैरआवासीय नेपाली संघको नेतृत्व सम्हालेका थिए । गैरआवासीय नेपाली संघका पहिलोपटक निर्वाचनमार्फत् नेतृत्वमा पुगेका उनले संस्थाको उचाइ र विश्वसनियता बढाउन निकै मेहेनत गरेका थिए । ०७२ को महाभूकम्पपछि उनीहरुले राहत वितरण र वस्ती निर्माणको जोखिमपूर्ण कामको नेतृत्व गरेका थिए ।

घले दम्पत्तिले काठमाडौँमा शेराटन ब्राण्डमा पाँचतारे डिलक्स होटल सञ्चालन गर्दैछन् । यो होटलको अहिले धमाधम निर्माण कार्य भइरहेको छ ।

पछिल्ला वर्षहरुमा नेपाल र नेपाली समुदायको सेवामा सक्रिय घलेले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नेगरी एक अर्ब रुपैयाँको परोपकारी कोष स्थापना गरेका छन् । यो नै नेपालमा अहिलेसम्मको सबैभन्दा ठूलो निजी क्षेत्रको परोपकारी कोष हो ।