हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि फागुन ७ बाट वारपारको संघर्ष गर्छौ : कमल थापा

वर्तमान सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उन्मुख : कमल थापा

जेठ ११,२०७५

-

११ जेठ , २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान र प्रजातन्त्रको आवरणमा वर्तमान सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उन्मुख रहेको गम्भिर आरोप लगाएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले यस्तो आरोप लगाएका हुन । उनले वर्तमान सरकार प्रतिपक्षी र विपक्षी दलहरुको क्रियाकलापप्रति असहिष्णु हुनु सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उद्दत रहेको प्रमाण भएको जिकिर गरे ।

थापाले अबको २ देखि ३ वर्षभित्रै वर्तमान सरकारले ९० प्रतिशत कर्मचारी, सुरक्षा निकाय, न्यायालय सबैमा आफ्नो प्रभाव जमाउने आशंका व्यक्त गरे ।

संविधानलाई स्वागत नगरेको र नाकाबन्दी लगाएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको क्रममा स्वागत गर्नुसम्म ठिक भएपनि नागरिक अभिनन्दन गरिनु गलत भएको उनको भनाई थियो  ।

उनले फरक प्रसङ्गमा योजनावद्ध रुपमा धर्म परिवर्तन गराउने काम भैरहेकोप्रति चिन्ता व्यक्त गर्दै धर्म परिवर्तन गराउने व्यक्ति, समूह र गिरोहलाई संविधानको भावना अनुसार कारवाही गर्नुपर्ने माँग गरे ।

त्यस्तै, अध्यक्ष थापाले गौ हत्या गर्नेहरुलाई पनि नियन्त्रणमा लिन र गौहरुको सुरक्षाको लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरे ।

त्यस्तै निर्वाचनको संघारमा भएको पार्टी विभाजन, कमजोर संगठन, नेपाली कांग्रेससँगको तालमेललाई पराजयको मुल कारण ठहर गर्दै बैठकले पार्टीको विधान संशोधन, राजसंस्थासहितको लोकतन्त्र र हिन्दूराष्ट्रको पूनःस्थापनाका लागि सशक्त भएर जनतामा जाने निर्णय गरेको पनि थापाले सुनाए ।

उनका अनुसार राप्रपाले जेठदेखि माघ मसान्तभित्र छुवाछुतविरुद्ध राष्ट्रिय अभियान चलाउने, मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दूराष्ट्र जनचेतना कार्यक्रम तथा भ्रष्टाचारविरुद्ध भण्डफोर अभियान सञ्चालने गर्ने र समान विचारधारा भएका व्यक्ति समूह र दलसँग एकता र सहकार्य गर्ने भएको छ ।

२०७५ फागुन ७ गतेबाट हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि निर्णायक जनसंघर्ष गर्ने बताउँदै अध्यक्ष थापाले भने,‘ हामी यसको लागि वारपारको जनसंघर्ष गर्छौ ।’