विवाहमा ४० ग्रामभन्दा बढी सुन दिए ३ महिना जेल सजाय

जेठ ११,२०७५

-

 
जेठ ११, २०७५ काठमाडौं ।
 
विवाहमा ४० ग्रामभन्दा बढी सुन दिन नपाइने कानून बन्ने भएको छ ।
 
गृह मन्त्रालयले तयार पारेको सामाजिक सुधार विधेयकमा दुलाहा पक्षले दुलहीलाई ४० र दुलही पक्षले दुलाहालाई बढीमा २० ग्राम सुन दिन मिल्ने उल्लेख छ ।
 
तोकिएको भन्दा बढी सुन दिए सुन जफत वा ३ महिना जेल सजाय 
हुनेछ ।
 
विवाहमा दाइजो, जन्ती र आफूखुसी भोजभतेरमा खर्च गर्दा विभिन्न समस्या भएको भन्दै मन्त्रालयले नयाँ ऐन ल्याउने तयारी गरेको हो ।
 
विवाहमा बोलाइएका व्यक्तिले ५ सय रुपैयाँ वा सो बराबरको मात्र उपहार दुलाहा वा दुलहीलाई दिन पाउने विधयेकमा व्यवस्था गरिएको छ ।
 
ऐन लागु भएपछि दुलाहा पक्षबाट २५ र दुलही पक्षबाट ३५ जनामात्र जन्ती जान पाउने छन् ।
 
विवाह भोजमा २ सय ५० र सामाजिक भोजमा १ सय जनासम्मलाई बोलाउन पाइनेछ ।
 
विवाह र अन्य भोजभतेरको खर्च विवरण १५ दिन भित्र स्थानीय तहमा बुझाउनु पर्ने व्यवस्था विधेयकमा छ ।
 
बढी जन्ती लिनेलाई पचास हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ ।
 
सार्वजनिक पद धारण गरेको व्यक्तिले यो व्यवस्थाको उल्लंघन गरे थप २५ प्रतिशत सजाय हुनेछ ।
 
मन्त्रालयले बनाएको मस्यौदा आवश्यक परिमार्जन गर्न कानून मन्त्रालय पठाइएको छ ।
 
सामाजिक व्यवहारमा भड्किलो प्रदर्शन गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न नयाँ ऐन ल्याउनु परेको मन्त्रालयले जनाएको छ ।
कानून मन्त्रालयबाट परिमार्जन भएर आएको विधयेकलाई केही दिनभित्रै संसदमा पेश गर्ने गृहको तयारी छ ।