रिजाललाई नेम्वाङले दिए पानी जहाज चढ्ने निम्तो

जेठ ११,२०७५

-

जेठ ११, २०७५ काठमाडौं ।
 
नेपाल कम्युनिष्ट पार्टीका सांसद एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले आजकाल आफूले रेल चढेको सपना देख्न थालेको बताएका छन् ।
 
संसदमा सरकारले नीति तथा कार्यक्रम पेश गरेको दिनदेखि सपनामा काठमाडौंबाट लुम्बिनी, काठमाडौंबाट पोखरा, काठमाडौंबाट वीरगञ्ज गएको सपना देख्न थालेको बताए ।
 
‘एक जना मित्रले काठमाडौंबाट वीरगञ्ज गएको सपना देख्न थाल्नु भएछ’, नेम्वाङले भने, ‘म पनि आजकाल काठमाडौं–लुम्बिनी, काठमाडौं–पोखरा, काठमाडौं–वीरगञ्जमात्र होइन दिल्ली हुँदै युरोप पुगेको । काठमाडौं–बेइजिङ पुग्ने सपना देख्न थालेको छु।’
 
नेम्वाङले सरकारले नीति तथा कार्यक्रमबाट देखेको सपना अब बजेटमा आउनुपर्ने बताए । 
संसदमा सरकारले पेश गरेको नीति तथा कार्यक्रमको बचाऊ गर्दै नेम्वाङले निर्वाचनको घोषणापत्रको आधारमा तयार गरिएको बताए ।
 
‘हामीले सपना देखेका छौं । सरकारले सपना देखेको छ । अरुबेला मित्रहरूको सपना पत्याउँथे । यसपटक हाम्रो सपना पत्याएका छन्’, नेम्वाङले भने ।
 
नेम्वाङले पानी जहाज चढेको सपना समेत देख्न थालेको बताए ।
 
‘कोशीबाट गंगा हुँदै हिन्द महासागर पुगेको सपना देख्न थालेको छु । यस्तो सपना देख्नु अचम्म हो र सभामुख महोदय’, नेम्वाङले भने, ‘म निम्ता गर्छु मेरा मित्र मिनेन्द्रलाई । तपाईंकै मोरङ छेव सुनसरीबाट पानीजहाज चढेर हामी किन नजाने ?’
 
नेम्वाङले सबैलाई सपना देख्न आग्रहसमेत गरे ।