इतिहासकै महँगो विश्वकप आयोजक रुस

विश्वकपको सबैभन्दा कमजोर टोली

30 Views

७ दिन अगाडि




 जेठ ३१, २०७५ एजेन्सी ।
 
खर्चको हिसाबले यो ८८ वर्षे विश्वकप इतिहासकै सर्वाधिक महँगो प्रतियोगिता हुने भएको छ । रुसले यो विश्वकप आठ वर्षको समय र ७ सय बिलियन रुबल खर्च गरेर आयोजना गर्दैछ ।
नयाँ पूर्वाधार र नयाँ विकासमार्फत रुसले आफ्नो आधुनिकताको चिनारी गर्वसाथ विश्वमाझ गराउँदैछ । तर दुग्भार्य यति नै बेला रुसको फुटबल टिम खराब भने समयबाट गुज्रिरहेको छ ।
फिफा वरियतालाई आधार मानेर हेर्दा विश्वकपमा सहभागी ३२ टोलीमध्ये आयोजक रुस सबैभन्दा कमजोर टोली हो । रुस फिफा वरियताको ७०औं स्थानमा रहेको छ । 
 
साउदी अरेबियासँग प्रतिस्पर्धामा उत्रन लागेको स्टानिसलाभ चेर्चिसोभको प्रशिक्षणमा रहेको टोलीलाई सबैले कमजोर आँकेका छन् । विपक्षी होइन । रुसी समर्थकहरूले नै भरोसा गर्न सकेका छैनन् । समूह चरण पार गर्नु रुसका लागि फलामे ढोका तोड्नु सरह हुनेछ । समूह चरणमै रुसले महोमद सलाहको इजिप्ट र लुइस सुआरेजको उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ । 
 
आखिर रुस किन यति कमजोर भयो ? यसको जवाफ खोज्न सन् २००० को मध्यतिर फर्कनुपर्छ । 
जतिबेला डायनामो मस्कोले युरोपकै शक्तिशाली क्लब बन्ने सपना देखेको थियो । एक्लेसी फेडोर्यचेभले सन् २००४ मा क्लब किनेपछि यो कथा सुरु भएको थियो । फेडोर्यचेभ फुटबलमा अर्बौं लगानी खन्याउने ठूला तेल व्यापारीमध्येका पहिलो हुन् भन्दा फरक पर्दैन । उनले तेल कार, स्टिल, पानीजहाजलगायतका थुप्रै व्यापारबाट कमाएको लगानी आफ्नो बाल्यकालदेखिकै प्रिय क्लबमा लगाए । 
 
पोर्चुगिज एजेन्ट जर्ज मेन्डिसलाई क्लबमा खेलाडी भित्र्याउने जिम्मा दिए । 
 
 
 
त्यसपछि के चाहियो, सन् २००४ को च्याम्पियन्स लिग विजेता पोर्चुगिज क्लब पोर्टोका धेरैजसो खेलाडी यस क्लबमा ठूलो धनराशीमा आबद्ध भए ।  
पोर्चुगलका चर्चित खेलाडी नुनो रिकार्डो १६ मिलियन डलरमा क्लब भित्रिए । लगत्तै कोस्टिन्हा, डेर्ली, गिआवकास, सेइटारडिसलगायत तत्कालीन च्याम्पियन्स लिग विजेता टोलीका खेलाडी डायनामो आए । पोर्चुगलकै स्पोर्टिङ सीपी, इटलीको बार्गालगायत क्लबका खेलाडी पनि डायनामो मस्को आइरहेका थिए । यर्ही समय हो, जतिबेला ब्राजिलका थियगो सिल्भाले पनि एक वर्ष लोनमा मस्कोबाटै खेलेका थिए । २० वर्षका सिल्भा त्यतिबेला टोलीका प्रमुख खेलाडी भने थिएनन् । 
 
यसरी बलियो टोली निर्माण हुँदै थियो । तर, २७ अगस्ट २००५ मा डायनामो मस्को र मस्को फुटबल क्लबबीचको खेलले रुसी फुटबलमा ठूलो फेरबदल ल्यायो । डायनामोले यस खेलमा सबै विदेशी खेलाडीलाई मैदानमा उतारेको थियो । त्यसपछि रुसी फुटबल युनियनका अध्यक्ष भिटाली मुक्टोले लिगको नियम परिवर्तन गरे । ७ जना विदेशी खेलाडीलाई मात्रै टिममा राख्न पाइने नियम बन्यो । यसो गर्दा रुसी खेलाडीको स्थान टोलीमा सुरक्षित भयो । तर यही निर्णयले रुसमा बन्दै गरेको फुटबलको बजार बिग्रियो । फेडोर्यचेभजस्ता तेल व्यापारीले विदेशबाट ल्याएका महँगा खेलाडीकै भरमा उपाधि जित्ने अवस्था रहेन । फुटबलमा लगानीको इच्छा गर्नेहरू सतर्क भए ।
 
रुसी खेलाडीले संरक्षण पाए । तर प्रभाव राम्रो भएन । एकतर्फ फुटबलमा लगानी गर्नेहरू हच्किए । अर्कोतर्फ, टिममा आफ्नो भविष्य सुरक्षित देखेपछि घरेलु खेलाडीहरूले मेहिनत गर्न छाडे । उनीहरूको तलब पनि बढ्यो । पछिल्लो समय यो नियम संशोधन गर्दै ६ जना विदेशी खेलाडी र ५ जना स्थानीय खेलाडी राख्नुपर्ने बनाइएको छ । तर अवस्था अझै सुध्रिएको छैन । 
 
सीएसकेए मस्कोका हेड स्काउ एन्टोन इभ्मेनोभले रुसी फुटबलमा यो नियमले कसरी परिवर्तन ल्यायो भन्ने विषय प्रत्यक्ष अनुभव गरेका छन् । ‘यो एउटा कृत्रिम सीमितता थियो,’ यसले रुसी खेलाडीलाई फाइदा पु¥याएको छ । कहिलेकाहीँ रुसी खेलाडीले टिममा स्थान बनाउनका लागि मिहिनेत नै नगरे पनि हुन्छ । जुन राम्रो होइन । यो संरक्षणवादी नियम हो,’ इभ्मेनोभले भने, ‘रुसी लिगमा यति पर्याप्त प्रतिभा छँदै छैनन् । त्यसैले उनीहरूलाई संरक्षण दिनु र आकाशिँदो मूल्य तिर्नुभन्दा विदेशी खेलाडीसँगको प्रतिस्पर्धाका लागि बाध्य बनाउनुपर्ने थियो ।’
 
अहिले रुसी खेलाडीको वृद्धिविकास तीव्र गतिमा छ । उनीहरूले पाउने तलब साँच्चै आकर्षक छ । रुसी लिगमा सर्वा्धिक आम्दानी गर्ने मिडफिल्डर अर्टेम डेज्युवाको वार्षिक तलब ३ दशमलव ६ मिलियन डलर छ । उनी जेनिथ सेन्ट पिटर्सवर्गबाट खेल्छन् । यहीँ क्लबमा  अलेकसान्दर कोकेरिनले ३ दशमलव ३ मिलियन कमाउँछन् । क्रास्नोडरबाट खेल्ने फ्योडोर स्मलोभले २ दशलमव ९ मिलियन कमाउँछन् । के यर्थाथ बिर्सन मिल्दैन भने विश्वका ठूला लिगमा यी खेलाडी जतिका खेलाडीहरू बेन्चमै हुन्छन् । उनीहरूले कम पैसा पाएका हुन्छन् र राम्रो तयारी गर्दै ठूलो अवसर कुरेर बस्छन् । 
 
तर स्वदेशमै यसरी पुरस्कृत भइरहँदा रुसी खेलाडीहरूले विदेशी लिगमा प्रतिस्पर्धा गरेर आफ्नो प्रतिभा तिखार्नुपर्छ भन्ने बिर्सेका छन् । यद्यपि, इभ्मेनोभ नियमको विरुद्धमा छैनन् । ‘यस्तो सीमितता नभएको भए हामीसँग रुसी खेलाडी नै बाँकी रहने थिएनन् र हामीले राम्रो राष्ट्रिय टोली निर्माण गर्न सक्ने थिएँनौँ,’ उनले भने, ‘तर के भयो भने रुसी खेलाडीहरू यस संरक्षणवादी नियमपछि अल्छी भए । उनीहरूले विदेश गएर खेल्नुपर्ने कारण देखेनन् । घरमै खुसी भए । यहाँ क्लबले यति धेरै पैसा दिन्छ कि यी खेलाडीहरूलाई विदेशमा खेलाउनका लागि अफर लिएर बार्सिलोना नै आउनुपर्छ ।’
 
अवश्य यसका घाटा छन् । रुसमा मात्रै खेल्दा खेलाडीहरू नयाँ प्रविधिसँग जानकार हुँदैनन् । उनीहरूले नयाँ कुरा सिक्न र देख्न पाउँदैनन् । ठूलो कुरा, उनीहरूले अन्य फुटबल संस्कृतिबाट आएका प्रतिभासँग खेल्ने अवसर कम पाउँछन् ।  
 
एक पटक रुसी खेलाडीले इङ्लिस क्लबबाट खेल्ने बाढी पनि आएको थियो । यो थियो, सन् २००८ को कुरा । तर उनीहरूले लामो समय इङ्ल्यान्डमा बिताएनन् । त्यसो हुनुको कारण थियो, रसियामा पाएजस्तो संरक्षण, सहजता र पैसा इङ्ल्यान्डमा नपाउनु । स्वदेशमै संरक्षण पाइने भएकाले उनीहरूले बेन्चमा बस्ने वा सङ्घर्ष गर्ने बाटो अपनाएनन् । अहिले रुसी टोलीमा विदेशी लिग खेल्ने तीन खेलाडी मात्रै अटाएका छन् । स्पेनको भिल्लारियलबाट खेल्ने डेनिस चेरिसेभ, टर्कीको फेनरवासबाट खेल्ने रोमन न्युस्टार्डटर र बेल्जियमको ब्रुग्गीबाट खेल्ने भ्लादिमिर गाबुलोभ । 
 
 
 
रुसी खेलाडीहरूको यस्तो कमजोर मनोविज्ञानले राष्ट्रिय टोलीलाई थोत्रो बनाएको छ । एलन डिजागोइभ र अलेक्सान्दर कोकेरिनजस्ता निकै प्रतिभाशाली खेलाडी रुससँग छन् । यी दुवै खेलाडी २७ वर्षका भए । तर दुर्भाग्य उनीहरू दुवैले विदेशमा गएर आफ्नो खेल कलालाई अर्को स्तरमा पु¥याउनुपर्छ भन्ने कहिल्यै सोचेनन् । 
 
युरो २००८ र २०१२ मा रुसी टोलीको प्रशिक्षण दलका सदस्य रहेका रायमन्ड भेर्हिजेन अहिलेको टोली त्यतिबेलाको तुलनामा निकै कमजोर रहेको दाबी गर्छन् । ‘सङ्र्कीण सोचले फुटबलको विकास रोक्छ,’ उनले भने, ‘खेलाडीलाई राम्रो बनाउने भनेको अन्य राम्रा खेलाडीसँग खेल्ने वातावरण बनाउनु हो । यदि तपाईं राम्रो खेलाडी चाहनुहुन्छ भने तपाईंले ती खेलाडीलाई राम्रा खेलाडीको अघिपछि घेर्नुपर्छ । रुसी खेलाडीहरू कमजोर खेलाडीले घेरिएका छन् । त्यसैले उनीहरूको मानसिकता पनि कमजोर छ ।’ यर्थाथ के हो भने अहिले रुसी लिगमा राम्रा विदेशी खेलाडीको खडेरी छ । 
 
तर विदेशी खेलाडीको कोटा सीमित गरेपछि रुसी लिगमा ठूला धनाढ्यहरूले लगानी नै गर्न चाहेनन् भन्ने होइन । राम्रा मूल्य तिरेर क्लबहरूले विश्व चर्चित खेलाडीलाई नकिनेका पनि होइनन् । विदेशी खेलाडीलाई भित्र्याएर रुसी लिगलाई नै माथि उकास्ने प्रयास भएको थियो । 
 
सन् २०११ देखि ०१३ सम्म स्यामुयल इटोले अन्जी माक्हाच्कालाबाट खेलेका थिए । सन् २०१२ मा जेनिथ सेन्ट पिटर्सवर्गले एलेक्स विट्सेल र हल्कलाई भित्र्याएको थियो । यी दुई खेलाडीलाई किन्न मात्रै जेनिथले १ सय मिलियन डलर खर्च गरेको थियो र सोचिएको थियो, अब फेरि रुसी फुटबल उँभो लाग्नेछ । 
 
 
 
जेनिथ क्लबमा गाजप्रोम कम्पनीको स्वामित्व छ । सरकारी लगानीमा सञ्चालित यो कम्पनी रुसको सबैभन्दा ठूलो ग्यास कम्पनी हो । सन् २००९ देखि २०११ सम्म यो कम्पनी विश्वकै सबैभन्दा धेरै फाइदा गर्ने कम्पनी थियो । तर २०१४ मा रुसले युक्रन कब्जा गरेपछि परिस्थिति फेरियो । रुसमाथि पश्चिमा समुदायले नाकाबन्दी लगायो । रुबेलको भाउ एक्कासि आरालो लाग्यो । सन् २०१३ को तुलनामा ०१४ मा ग्राजप्रमको नाफा ८६ प्रतिशत कम भयो । अर्थात अब हल्क र विट्सेललाई तिर्ने पैसा जेनिथसँग रहेन । 
 
खेलाडीका लागि अब रुस राम्रो बजार रहेन र त्यसको विकल्पमा चीन देखाप¥यो । हल्क र विट्सेल दुबै चीनमा सरुवा भए । अन्य रुसी क्लबहरूको हालत पनि यस्तै भयो ।  अहिले रुसी लिगमा राम्रा खेलाडीको अभाव छ ।  
 
रुसी लिगप्रति राम्रो विदेशी खेलाडीहरूमो आकर्षण कम हुँदै गइरहेको छ । रुसी खेलाडीहरूलाई संरक्षण दिने नीति असफल भएको प्रस्ट देखिएको छ । सन् २०१४ देखि दुई वर्षसम्म जेनिथलाई प्रशिक्षण दिएका विश्वचर्चित प्रशिक्षक आन्द्रे भिलास बोयसको अनुभव पनि मीठो छैन । आफ्नो सम्झौता अवधि टुङ्ग्याउनै उनलाई सकस भएको थियो । ‘संरक्षणकारी नीति निकै गलत निर्णय हो । यसले खेलाडीलाई अल्छी बनाएको छ र टोलीमा स्थान बनाउनका लागि लड्नुपर्ने, राम्रो खेल्नुपर्ने दायित्वबाट मुक्त गरेको छ,’ उनले भनेका थिए, ‘यो रुसी फुटबलको विकासको अन्त्य हो ।’ 
सन् २०१६ मा बोयस पनि चीन गए । रुसी फुटबलमा बाँकी रहेको ग्ल्यामर क्रमशः घट्दै गयो । एजेन्सी