८० वर्षपछि जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरियो

यसअघि अन्तिमपटक सन् १९३८ को विश्वकपमा जर्मनीले पहिलो चरण पार गर्न सकेको थिएन ।

आषाढ १४,२०७५

-

१४ असार, २०७५

साविक विजेता जर्मनी विश्वकप फुटबलको पहिलो चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा बुधबार दक्षिण कोरियासँग २-० गोलले पराजित भएपछि जर्मनी ८० वर्षपछि विश्वकपमा पहिलो चरणमै सिमित भएको हो ।

यसअघि अन्तिमपटक सन् १९३८ को विश्वकपमा जर्मनीले पहिलो चरण पार गर्न सकेको थिएन। यसैगरी विश्वकपमा साविक विजेता टोली पहिलो चरणबाटै बाहिरिएको यो लगातार तेस्रो पटक हो ।

सन् २०१० मा इटाली र सन् २०१४ मा स्पेन पहिलो चरणबाटै बाहिरिएका थिए । सन् १९६६ को विश्वकपमा ब्राजिल र सन् २००२ को विश्वकपमा फ्रान्स  साविक विजेता टोली भएपनि पहिलो चरणबाटै बाहिरिएका थिए ।

समूह ‘एफ’का सबै खेल सक्किदाॅ स्विडेन ६ अंक जोडेर विजेता र ६ अंक नै भएको मेक्सिको उपविजेता बन्यो । दक्षिण कोरियाले तीन र  जर्मनीले एक अंक जोडे । 

कोरियाको जितमा दोस्रो हाफको इन्जुरी समयमा  किम यङ ग्वन  र सन हिउन मिनले एक-एक गोल गरे ।

हिजो नै भएको अर्को खेलमा स्विडेनले मेक्सिकोलाई ३-० गोलले हरायो । स्विडेनको जितमा लुडविग अगस्टिनसन र आन्द्रेस ग्रान्भिष्टले एक एक गोल गरे । एक गोल भने मेक्सिकोका खेलाडीबाट आत्मघाती भएको थियो ।