सुनसरीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

आषाढ १९,२०७५

-

१९ असार, २०७५    

पूर्व—पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा भारतीय स्कार्पियो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बी आर ०६ पी बी ६४१८ नम्बरको स्कारपिओ जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले दुर्घटनाको पुष्टि गर्दै ६ जनाको मृत्यु भएको जनाएको छ ।

मृतकमध्ये भारत विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीयाका ४० वर्षीय संजीव कुमार र सोही ठाउँका ७ बर्षीय गोनु कुमारको मात्रै सनाखत हुन सकेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

स्कारपिओ जिप अनियन्त्रित भएर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा र तीनजनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।

घटनास्थलमा मृत्यु भएका तर नाम नखुलेका तीनजनाको शव जिल्ला अस्पताल, इनरुवामा राखिएको छ भने उपचारका क्रममा मृत्यु भएकाको शव विराटनगरस्थित अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा अन्य चारजना घाइते भएका छन् ।